Publicidade

Lamentações 2

1 प्रभुले आफ्नो रिसको बादलले

कसरी सियोनकी छोरीलाई ढाकिदिनुभएको छ!

उहाँले इस्राएलको स्वर्गीय गौरवलाई

तल पृथ्वीमा खसालिदिनुभएको छ;

उहाँले आफ्नो रिसको दिनमा

आफ्नो पाउदानलाई सम्झनुभएन।

2 प्रभुले याकोबका सबै वासस्थानहरूलाई

दया नदेखाई नष्‍ट पार्नुभयो;

उहाँले आफ्नो रिसमा यहूदाका छोरीका

बलिया किल्‍लाहरू ध्वस्त गर्नुभयो।

उहाँले त्यसको राज्य र त्यसका राजकुमारलाई

भुइँको धुलोसँग मिलाएर अपमानित तुल्याउनुभयो।

3 उहाँको डरलाग्दो क्रोधमा इस्राएलको

सबै शक्तिलाई उहाँले नष्‍ट पार्नुभयो।

उहाँले इस्राएलीहरूको शत्रु नजिक आइपुग्दा,

आफ्नो सहयोगी हात पछिल्तिर सार्नुभयो।

उहाँ याकोबमाथि दन्केको आगोझैँ दन्कनुभयो,

जसले वरिपरिका सबै कुरा भस्म पार्‍यो।

4 उहाँले शत्रुले जस्तै आफ्नो धनुमा ताँदो चढाउनुभएको छ;

निशाना लगाउन उहाँको दाहिने हात तयार छ।

उहाँले आफ्ना नजरमा प्रिय ठानेकाहरूलाई

शत्रुलाई झैँ संहार गर्नुभयो;

उहाँले सियोनकी छोरीको पालमा

आफ्नो रिस आगोजस्तै बर्साउनुभएको छ।

5 प्रभु शत्रुजस्तै बन्‍नुभएको छ;

उहाँले इस्राएललाई निल्नुभएको छ।

उहाँले यरूशलेमका सबै महलहरू नष्‍ट गर्नुभएको छ;

अनि त्यसका किल्‍लाहरू भत्काइदिनुभएको छ।

यहूदाका छोरीको निम्ति उहाँले शोक

र विलाप बढाइदिनुभएको छ।

6 उहाँले आफ्नो यरूशलेमको बासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ भत्काइदिनुभएको छ;

अनि उहाँले आफ्नो सभाको स्थानलाई नष्‍ट पारिदिनुभएको छ।

याहवेहले सियोनबाट तोकिएका

चाडहरू र शब्बाथ दिनहरूको सम्झना मेटिदिनुभएको छ;

उहाँले आफ्नो डरलाग्दो क्रोधमा राजा र पुजारी

दुवैलाई तिरस्कार गर्नुभएको छ।

7 प्रभुले आफ्नो वेदीलाई इन्कार गर्नुभएको छ,

र आफ्नो पवित्रस्थानलाई त्याग्नुभएको छ।

उहाँले त्यसका महलका पर्खालहरू

शत्रुका हातमा दिनुभएको छ;

तिनीहरूले तोकिएको चाडको दिनमा झैँ

याहवेहको भवनमा उत्सवको उच्‍च आवाज उठाएका छन्।

8 याहवेहले सियोनको छोरीका वरिपरिको

पर्खाल भत्काउने अठोट गर्नुभयो।

उहाँले एउटा नाप्‍ने फित्ताले नाप लिनुभयो

र त्यसलाई नष्‍ट गर्न आफ्नो हातलाई रोक्नुभएन।

उहाँले किल्‍लाहरू र पर्खालहरूलाई विलाप गर्न लगाउनुभयो;

अनि ती पर्खालहरू एकैसाथ ढले।

9 त्यसका मूलढोकाहरू जमिनमा भासिए;

त्यसका गजबारहरू भत्काएर नष्‍ट पारिए।

त्यसका राजा र राजकुमारहरू गैरयहूदीहरूका बीचमा निर्वासित भएका छन्।

अब व्यवस्था रहँदैन,

न त तिनीहरूका अगमवक्ताहरूले

याहवेहबाट कुनै दर्शन नै पाउँछन्।

10 सियोनका छोरीका धर्मगुरुहरू

चुपचाप भुइँमा बसेका छन्;

तिनीहरूले आफ्ना शिरमा धुलो छरेका छन्,

र भाङ्ग्राका वस्त्र पहिरिएका छन्।

यरूशलेमका कुमारीहरूले

आफ्नो शिर भुइँतिर झुकाएका छन्।

11 मेरा आँखा रुँदा-रुँदा टट्टाइसकेका छन्,

मेरो प्राण मभित्र व्याकुल छ;

मेरो हृदय छिया-छिया भएको छ;

किनकि मेरा मानिसहरू नष्‍ट भएका छन्;

अनि बालबालिकाहरू र दुधे बच्‍चाहरू

सहरका गल्‍लीहरूमा बेहोश भएका छन्।

12 जब तिनीहरू गल्‍लीहरूमा

घाइते ढलेझैँ ढल्छन्,

जब तिनीहरूको प्राण

आफ्ना आमाका काखमा शिथिल हुन्छन्,

तब आफ्ना आमाहरूलाई यसो भन्छन्,

"खोइ, भोजन र दाखमद्य कहाँ छन्?"

13 हे यरूशलेमकी छोरी,

तँलाई म के भनूँ?

म तँलाई केसँग तुलना गरूँ?

हे सियोनकी कुमारी छोरी,

म तँलाई केसँग तुलना गरूँ?

ताकि म तँलाई सान्त्वना दिन सकूँ?

तेरो विनाशको चोट सागरझैँ गहिरो छ।

तँलाई कसले निको पार्न सक्ला?

14 तिमीहरूका अगमवक्ताहरूका दर्शनहरू

झूटा र व्यर्थका थिए;

तँलाई कैदमा जानबाट जोगाउनलाई

तिनीहरूले तेरो पाप प्रकट गरिदिएनन्।

बरु तिनीहरूले तेरा लागि

झूटो र भ्रामक ईश्‍वरवाणी गरे।

15 तेरो बाटो छेउभएर जाने मानिसहरू

सबैले तँलाई खिसी गर्दै ताली बजाउँछन्;

यरूशलेमकी छोरीको विरुद्ध खिसी गर्दै

टाउको हल्‍लाउँछन्:

"के यो त्यही सहर हो,

जसलाई अति सुन्दर

र सारा पृथ्वीको आनन्द भनेर चिनिन्थ्यो?"

16 तेरा सबै शत्रुहरू आफ्ना मुख

खोलेर तेरो विरुद्धमा बोल्छन्;

तिनीहरूले खिसी गर्छन्; आफ्ना दाह्रा किट्छन्,

र भन्छन्, "हामीले त्यसलाई निलिसक्यौँ।

हामीले प्रतीक्षा गरेको दिन यही हो;

हामी यो दिन हेर्नलाई नै बाँचेका थियौँ।"

17 याहवेहले जे योजना गर्नुभएको थियो;

उहाँले त्यही आफ्नो वचन पूरा गर्नुभएको छ,

जुन वचन उहाँले धेरै समयअगि घोषणा गर्नुभएको थियो।

उहाँले तँलाई दयाविना ध्वस्त गर्नुभएको छ;

उहाँले तेरा शत्रुहरूलाई तँमाथि रमाउन दिनुभएको छ,

र उहाँले तेरा शत्रुहरूका सिङ उच्‍च पारिदिनुभएको छ।

18 मानिसका हृदयले

प्रभुलाई चर्को सोरले पुकार्दछन्।

हे सियोनकी छोरीको पर्खाल,

तेरो आँसु नदीझैँ

दिनरात बगोस्;

तैँले आफूलाई अलिकति पनि विश्राम नदे!

अनि आफ्ना आँखाहरूलाई पनि आराम नदे।

19 जब रातको पहिलो पहर सुरु हुन्छ,

तब रातभरि उठेर करा;

तेरो हृदय पानीझैँ

प्रभुको उपस्थितिमा पोख्।

तेरा बालबालिकाको जीवनको निम्ति

आफ्ना हातहरू उहाँतिर उठा,

ती बालकहरू, जो हरेक गल्‍लीका मोडमा

भोकले मूर्च्छा परेका छन्।

20 "हे याहवेह हेर्नुहोस् र विचार गर्नुहोस्:

तपाईंले कोसँग यस्तो व्यवहार गर्नुभएको छ?

के स्त्रीहरूले आफ्ना सन्तानहरूलाई,

आफूले स्याहारेका आफ्नै गर्भका फलहरूलाई खाऊन्?

के प्रभुका पवित्रस्थानका पुजारीहरू

र अगमवक्ताहरू दुवै मारिऊन्?

21 "बुढापाका र जवानहरू सडकको धुलोमा

एकसाथ लडिरहेका छन्;

मेरा जवान केटा र केटीहरू

शत्रुका तरवारले मारिएका छन्।

तपाईंको क्रोधको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ;

तपाईंले तिनीहरूलाई नटिठ्याई मार्नुभएको छ।

22 "तपाईंले चाडको दिनमा मानिसहरूलाई बोलाएझैँ,

तपाईंले चारैतिरबाट मेरो विरुद्धमा त्रास निम्त्याउनुभयो।

याहवेहको क्रोधको दिनमा

कोही पनि भाग्न वा बाँच्न सकेनन्;

जसलाई मैले हुर्काएँ र स्याहारेँ;

तिनीहरूलाई मेरा शत्रुहरूले सर्वनाश गरेका छन्।"

Veja também

Publicidade
Lamentações
Ver todos os capítulos de Lamentações
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-