Publicidade

Lamentações 3

1 याहवेहको क्रोधको लाठोद्वारा

दुःख भोग्ने मानिस म नै हुँ।

2 उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा

अन्धकारमा हिँड्न लगाउनुभएको छ;

3 वास्तवमा उहाँले आफ्नो हात

दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ।

4 उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ;

अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ।

5 उहाँले मलाई तितोपना र कष्‍टले

चारैतिर घेरेर कब्जामा पार्नुभएको छ।

6 उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ

अन्धकारमा राख्नुभएको छ।

7 म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ;

उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ।

8 मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि

उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो।

9 उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ;

उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ।

10 आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै

र लुकिरहेको सिंहले जस्तै

11 उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो,

र उहाँले मलाई टुक्रा-टुक्रा पार्नुभयो र सहाराहीन तुल्याउनुभयो।

12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो,

र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो।

13 उहाँले आफ्नो ठोक्रोको काँडले

मेरो मुटु छेडिदिनुभयो।

14 म सबै मानिसहरूको हाँसोको पात्र भएको छु;

दिनभरि नै म तिनीहरूको गिल्‍लाको गीत भएको छु।

15 उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो

र पित्त पिउन दिनुभयो।

16 उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो;

उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो।

17 मेरो आत्माबाट शान्ति खोसिएको छ;

सुख के हो, त्यो मैले बिर्सिसकेको छु।

18 यसकारण म भन्दछु, "मेरो गौरव

र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।"

19 म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था,

तितोपन र पित्तको स्मरण गर्दछु।

20 म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु,

र मेरो आत्मा मभित्र हताश हुन्छ।

21 तर पनि जब म यो कुरा स्मरण गर्दछु,

तब यसैले मलाई आशा दिन्छ:

22 याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ;

किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन।

23 हरेक बिहान ती नयाँ भएर आउँछन्;

तपाईंको विश्‍वसनीयता महान् छ।

24 म आफूलाई भन्दछु, "याहवेह मेरो सर्वस्व हुनुहुन्छ;

यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।"

25 याहवेहमा आशा राख्नेहरू

र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ;

26 याहवेहको उद्धारका निम्ति

चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो।

27 आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु

मानिसका निम्ति असल हुन्छ।

28 त्यो एकलै शान्त भएर बसोस्;

किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ।

29 त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्,

अझै पनि त्यसमा आशा होस्।

30 उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्;

अनि त्यसले अपमान गिल्‍ला सहँदै रहोस्।

31 किनकि प्रभुले

मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन।

32 उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ;

किनकि उहाँको अटुट प्रेम अति महान् छ।

33 किनकि उहाँले स्वइच्छाले

कसैमाथि पनि दुःख वा कष्‍ट दिनुहुन्‍न।

34 यहूदा देशका सबै कैदीहरूलाई

पैतालामुनि कुल्चँदा,

35 सर्वोच्‍च परमेश्‍वरको सामु

मानिसको अधिकार खोसिँदा,

36 र तिनीहरूले न्याय नपाउँदा

के यी सबै कुराहरू प्रभुले देख्न सक्नुहुन्‍न र?

37 प्रभुले आज्ञा गर्नुभएन भने

कसले पो बोलेको कुरा पूरा गर्न सक्छ?

38 के सर्वोच्‍चका मुखबाट नै

विपत्ति र असल कुरा दुवै आउँदैनन् र?

39 जीवित मानिसले आफ्ना पापको

दण्ड पाउँदा किन गनगन गर्नु?

40 हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ,

र हामी याहवेहतिर फर्कौँ।

41 हामी हाम्रा हात र हृदय स्वर्गका

परमेश्‍वरतिर उचालौँ र भनौँ:

42 "हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ,

अनि तपाईंले क्षमा गर्नुभएको छैन।

43 "तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो;

तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो।

44 तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ,

ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्।

45 तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा

फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ।

46 "हाम्रा सबै शत्रुहरूले

ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्।

47 हामीले त्रास र खतराको पासो,

नाश र विनाशको कष्‍ट भोगेका छौँ।"

48 मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्;

किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्।

49 मेरा आँखाबाट आँसु नरोकी,

निरन्तर बगिरहनेछ,

50 जबसम्म याहवेहले स्वर्गबाट

तल हेर्नुहुन्‍न र देख्नुहुन्‍न।

51 मैले देखेको कुराले मलाई शोकित बनाउँदछ;

किनकि म मेरो सहरका सबै स्त्रीहरूको दुर्दशा देख्छु।

52 मेरा शत्रुहरूले विनाकारण

मलाई चरालाई झैँ शिकार गरिहिँडे।

53 तिनीहरूले एउटा खाडलमा मेरो जीवनको

अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने;

54 पानी मेरो टाउकोसम्म नै आइपुग्यो;

तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो।

55 हे याहवेह, मैले खाडलको गहिराइबाट,

तपाईंको नाममा पुकारेँ।

56 तपाईंले मेरो बिन्ती सुन्‍नुभयो: "छुटकाराको मेरो पुकारप्रति

आफ्नो कान बन्द नगर्नुहोस्!"

57 मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो,

र तपाईंले भन्‍नुभयो, "नडरा!"

58 हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो;

र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो।

59 हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ।

मेरो न्याय गरिदिनुहोस्!

60 तिनीहरूले मसित लिएको बदलाको गहिराइ

र मेरो विरुद्धमा गरेका सबै युक्तिहरू देख्नुभएको छ।

61 हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान

र तिनीहरूका सबै युक्तिहरू तपाईंले सुन्‍नुभएको छ;

62 मेरा शत्रुहरूले दिनभरि

मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्‍नुभएको छ।

63 तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्!

तिनीहरू गीत गाएर मेरो गिल्‍ला गर्दछन्।

64 हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्,

तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्।

65 तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्;

अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्!

66 हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्,

र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्!

Veja também

Publicidade
Lamentações
Ver todos os capítulos de Lamentações
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-