Publicidade

Lamentações 5

1 हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्;

हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ।

2 हाम्रो उत्तराधिकार अपरिचितहरूलाई

र हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ।

3 हामी बुबाविहीन भएका छौँ;

हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्।

4 आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ;

हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्‍नुपर्छ।

5 हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्;

हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ।

6 हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई

इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।

7 हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए;

तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।

8 दासहरूले हामीमाथि शासन गर्दछन्;

अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन।

9 मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले

हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,

10 हामीलाई भोकले गर्दा ज्वरो आएको छ,

र हाम्रो छाला चुल्होझैँ रन्केको छ।

11 सियोनमा स्त्रीहरू र

यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्।

12 शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ;

अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।

13 जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्;

अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।

14 अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्;

जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्।

15 हाम्रा हृदयबाट आनन्द गइसक्यो;

हाम्रो नाच शोकमा बदली भइसक्यो।

16 हाम्रा शिरबाट मुकुट खसेको छ।

हामीलाई धिक्‍कार छ; किनभने हामीले पाप गरेका छौँ!

17 यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्;

यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्;

18 किनकि सियोन पर्वत उजाड भएको छ;

अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।

19 हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ;

तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।

20 तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ?

तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?

21 यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैन

र तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने,

22 हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्,

र हामी तपाईंकहाँ फर्कन सकौँ;

हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्।

Veja também

Publicidade
Lamentações
Ver todos os capítulos de Lamentações
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-