Publicidade

Joel 1

1 पतूएलका छोरो योएलकहाँ आएको याहवेहको वचन।

सलहको आक्रमण

2 हे प्रधानहरू हो, यो कुरा सुन;

यस देशमा बस्‍ने सबैले सुन।

के तिमीहरूका समयमा

अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो?

3 तिमीहरूका छोराछोरीहरूलाई यो कुरा भन,

र तिमीहरूका छोराछोरीले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्;

अनि उनीहरूका छोराछोरीहरूले त्यसपछिका पुस्तालाई बताऊन्।

4 जे सलहको झुण्डले छोडेको थियो,

ती ठूला सलहहरूले खाइदिए;

जे ठूला सलहहरूले छोडेका थिए,

ती साना सलहहरूले खाइदिए;

जे साना सलहहरूले छोडेका थिए,

ती अरू सलहहरूले खाइदिए।

5 जाग, हे मतवालाहरू हो, र रोओ!

हे सबै मद्य पिउनेहरू हो, विलाप गर;

नयाँ मद्यको कारण विलौना गर;

किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ।

6 एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ,

जसका अनगन्ती शक्तिशाली सेना छन्;

तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्;

तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्।

7 त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ,

र मेरा नेभाराका रूखहरू नष्‍ट गरेको छ।

त्यसले हाँगाहरूलाई लाछेको छ,

र बोक्राहरू लाछेर फ्याँकिदिएको छ;

हाँगाहरूलाई सेतै पारिदिएको छ।

8 आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति,

शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर।

9 याहवेहको भवनबाट

अन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।

याहवेहको सामु सेवा गर्ने

पुजारीहरू शोक गरिरहेका छन्।

10 खेतहरू ध्वस्त पारिएका छन्,

र जमिन सुक्खा भएको छ;

अन्‍न नष्‍ट भएको छ,

नयाँ दाखमद्य सुकेको छ;

अनि जैतुनको तेल समाप्‍त भएको छ।

11 हे किसानहरू हो, निराश होओ।

दाखबारीका किसानहरू, विलौना गर;

गहुँ र जौको निम्ति शोक गर;

किनकि खेतबारीको फसल नष्‍ट भएको छ।

12 दाखको बोट सुकेको छ,

र नेभाराको रूख ओइलाएको छ;

अनार, खजूर र स्याउका रूखहरू,

खेतबारीका सबै रूखहरू सुकेका छन्।

निश्‍चय नै मानिसको

आनन्दको अन्त्य भएको छ।

पश्‍चात्तापको निम्ति आह्वान

13 हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर;

हे वेदीका सेवकहरू हो, विलौना गर।

तिमीहरू जसले मेरा परमेश्‍वरको अगि सेवा गर्छौ,

आओ, भाङ्ग्रा लगाएर रात कटाओ;

किनकि याहवेहको भवनबाट

अन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।

14 पवित्र उपवासको घोषणा गर;

पवित्र सभाको घोषणा गर।

अगुवाहरूलाई बोलाओ

र यस देशमा बस्‍नेहरू सबैलाई

तिमीहरूका परमेश्‍वर याहवेहको भवनमा ल्याओ,

र याहवेहलाई पुकार।

15 हाय! त्यो दिन,

किनकि याहवेहको दिन नजिक छ;

त्यो दिन सर्वशक्तिमान् परमेश्‍वरबाट विनाशझैँ आउनेछ।

16 के हाम्रा आँखाकै सामु

खानाहरू नष्‍ट गरिएको छैन र?

आनन्द र हर्ष

परमेश्‍वरको भवनमा बन्द गरिएको छैन र?

17 माटोका डल्‍लामुनि नै

बिउहरू चाउरिएका छन्।

भण्डारहरू उजाड भएका छन्,

र अन्‍नका ढुकुटीहरू तोडिएका छन्;

किनकि अन्‍न सुकेको छ।

18 कष्‍टले पशुप्राणीहरू कराउँदैछन्!

गाईबस्तुका बथानहरू विचलित भएका छन्;

किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन;

भेडाहरूका बगालले समेत कष्‍ट भोगिरहेका छन्।

19 हे याहवेह, म तपाईंलाई पुकार्छु;

किनकि आगोले उजाडस्थानका खर्कहरू भस्म पारेको छ,

र आगोको ज्वालाले खेतका सबै रूखहरूलाई भस्म पारेको छ।

20 जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्;

किनकि पानीका खोलाहरू सुकेका छन्,

र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ।

Veja também

Publicidade
Joel
Ver todos os capítulos de Joel
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-