येशूले चेलाहरूका खुट्टा धुनुभएको
1 यो निस्तार चाडको अगिल्लो दिन थियो। यस संसारलाई छोडेर पिताकहाँ जाने आफ्नो समय आइपुगेको छ भनी येशूलाई थाहा थियो। संसारमा भएका आफ्नाहरूलाई उहाँले अन्त्यसम्म नै प्रेम गर्नुभयो।
2 बेलुकीको भोजनको समय भएको थियो र शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिदिइसकेको थियो। 3 पिताले सबै कुरा उहाँको अधिकारमुनि राखिदिनुभएको छ, र उहाँ परमेश्वरबाट आउनुभएको हो र परमेश्वरकहाँ नै फर्कंदैहुनुहुन्छ भन्ने येशूलाई थाहा थियो। 4 त्यसकारण उहाँ भोजनबाट उठ्नुभयो, र आफ्ना बाहिरी लुगा फुकाल्नुभयो, र कम्मरमा एउटा तौलिया बाँध्नुभयो। 5 त्यसपछि उहाँले बाटामा पानी खन्याएर चेलाहरूका खुट्टा धुन थाल्नुभयो। अनि कम्मरमा बाँध्नुभएको तौलियाले खुट्टा पुछ्न थाल्नुभयो।
6 जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तब तिनले उहाँलाई भने, "प्रभु, के तपाईंले मेरो खुट्टा धुनुहुन्छ?"
7 येशूले भन्नुभयो, "मैले जे गरिरहेछु यसको अर्थ तिमीहरूले अहिले बुझ्दैनौ, तर पछि बुझ्नेछौ।"
8 पत्रुसले इन्कार गर्दै भने, "हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।"
येशूले जवाफ दिनुभयो, "मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।"
9 सिमोन पत्रुसले भने, "प्रभु, त्यसो भए मेरो खुट्टा मात्र होइन, तर मेरो हात र शिर पनि धोइदिनुहोस्।"
10 येशूले जवाफ दिनुभयो, "सम्पूर्ण शरीर नुहाइसकेका मानिसहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ; किनकि तिनीहरूको पूरै शरीर शुद्ध भएको छ। अब तिमीहरू शुद्ध भइसकेका छौ, तर यहाँ भएका सबै त होइनन्।" 11 किनकि येशूले उहाँलाई कसले धोका दिन लागेको छ भनेर चिन्नुहुन्थ्यो। त्यसैकारण उहाँले सबै त शुद्ध छैनन् भनी भन्नुभयो।
12 चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, "मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ? 13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, र त्यो ठिकै हो; किनकि म त्यही नै हुँ। 14 प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। 15 मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर। 16 म तिमीहरूलाई साँच्चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन। 17 अब तिमीहरूलाई यी कुराहरू थाहा छ र यसलाई पालन गर्यौ भने तिमीहरू धन्यका हुनेछौ।