चाडमा येशूले शिक्षा दिनुभएको
14 अब चाड आधा-आधी भइसकेपछि येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो। 15 यहूदीहरूले छक्क परेर सोधे, "केही अध्ययन नै नगरी पनि यिनले यस्तो ज्ञान कसरी प्राप्त गरे?"
16 येशूले जवाफ दिनुभयो, "मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो। 17 यदि कसैले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वरतर्फबाट आएको हो, अथवा म आफैँले बोलेको हुँ, सो उसले थाहा पाउनेछ। 18 जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ। तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो। उसमा केही झूट हुँदैन।