Publicidade

Sofonias 1

1 आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो:

याहवेहको दिनमा सारा पृथ्वीको न्याय

2 "म पृथ्वीको सतहबाट

सबै थोक नाश गर्नेछु,"

याहवेह घोषणा गर्नुहुन्छ।

3 "म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु;

म आकाशका पक्षीहरू

र समुद्रका माछाहरूलाई नाश गर्नेछु।

दुष्‍टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।"

"अनि म सबै मानव-जातिलाई

पृथ्वीको सतहबाट मेटिदिनेछु,"

याहवेह घोषणा गर्नुहुन्छ।

4 "म यहूदाको विरुद्धमा

र यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु।

यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई,

र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु;

5 तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि

आकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू,

दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरू

र मोलेख देवताको नाममा पनि शपथ खानेहरू,

6 याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू;

अनि याहवेहको खोजी नगर्नेहरू,

र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।"

7 प्रभु याहवेहको सामु चुपचाप बस;

किनकि याहवेहको दिन नजिकै छ।

याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ;

अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ।

8 "याहवेहको बलिदानको दिन,

म अगुवाहरू

र राजाका छोराहरू;

अनि विदेशी कपडा लगाउनेहरू

सबैलाई दण्ड दिनेछु।

9 त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू,

आफ्ना देवताहरूका मन्दिरलाई हिंसा

र छलले भर्नेहरू सबैलाई

म दण्ड दिनेछु।

10 "त्यस दिन"

याहवेह भन्‍नुहुन्छ,

"माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ;

सहरका नयाँ टोलबाट विलाप

र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ।

11 तिमी बजारमा बास बस्‍नेहरू, विलाप गर;

तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्,

चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्।

12 त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु,

र आफैँमा ढुक्‍क भएर बस्‍नेहरू,

जो मद्यका थिग्राजस्तै छन्,

जसले, ‘याहवेहले न असल, न त खराब नै

गर्नुहुन्छ’ भन्‍नेहरूलाई दण्ड दिनेछु।

13 तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्,

तिनीहरूका घरहरू भत्काइनेछन्।

तिनीहरूले घर बनाउनेछन्,

तर त्यसमा तिनीहरू बस्‍न पाउनेछैनन्;

तिनीहरूले दाखबारी लगाउनेछन्,

तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।"

14 याहवेहको महान् दिन नजिकै छ—

त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ।

याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ;

त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।

15 त्यो दिन क्रोधको दिन हुनेछ—

सङ्कष्‍ट र वेदनाको दिन,

कष्‍ट र सर्वनाशको दिन,

अन्धकार र निराशाको दिन,

बादल र घोर अन्धकारको दिन।

16 सुरक्षित किल्‍ला भएका सहरहरूका विरुद्धमा

र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा

तुरही र लडाइँको आवाज सुनिने दिन।

17 "म सबै मानिसहरूमाथि यस्तो सङ्कष्‍ट ल्याउनेछु,

कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्;

किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्।

तिनीहरूको रगत धुलोझैँ

र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्।

18 तिनीहरूलाई याहवेहको क्रोधको दिनमा,

न त तिनीहरूका सुनले,

न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।"

उहाँको डाहको आगोमा

सारा संसार भस्म पारिनेछ;

किनकि यस पृथ्वीमा बसोबास गर्ने

सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।

Veja também

Publicidade
Sofonias
Ver todos os capítulos de Sofonias
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-