येशूले जन्मैदेखिको दृष्टिविहीनलाई दृष्टि दिनुभएको
1 त्यहाँबाट जाँदै गर्नुहुँदा येशूले एउटा जन्मैदेखिको दृष्टिविहीनलाई देख्नुभयो। 2 उहाँका चेलाहरूले उहाँलाई सोधे, "गुरुज्यू, कसले पाप गर्यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्टिविहीन जन्म्यो?"
3 येशूले भन्नुभयो, "न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्वरको काम प्रकट होस् भन्ने हेतुले यसो भएको हो। 4 दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन। 5 म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।"
6 यी कुराहरू भनेर उहाँले भुइँमा थुक्नुभयो, र सो थुकले माटो मुछेर त्यस मानिसको आँखामा लगाइदिनुभयो। 7 उहाँले त्यसलाई भन्नुभयो, "जाऊ, सिलोआमको पोखरीमा गएर पखाल" (सिलोआमको अर्थ "पठाइएको" हो)। त्यो मानिस गयो र पखाल्यो, र देख्ने भएर घर फर्किआयो।