सेनापतिको विश्वास
1 येशूले मानिसहरूलाई यी सबै कुराहरू भनिसकेपछि उहाँ कफर्नहुममा आउनुभयो। 2 त्यहाँ एक जना सेनापतिको सेवक, जो तिनको प्यारो थियो; त्यो बिरामी भएर मर्नै लागेको थियो। 3 ती सेनापतिले जब येशूको बारेमा सुने, तब तिनले यहूदीहरूका केही प्रधानहरूलाई येशूसमक्ष उहाँ आएर तिनको सेवकलाई निको पारिदिनुहुन बिन्ती गर्न पठाए। 4 तिनीहरूले येशूकहाँ आएर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, "यी मानिस तपाईंले यो काम गरिदिन योग्यका छन्, 5 किनकि तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले हाम्रा सभाघर पनि बनाइदिएका हुन्।" 6 अनि येशू तिनीहरूसँग जानुभयो।
उहाँ घर नजिकै आइपुग्नुभएपछि सेनापतिले आफ्ना मित्रहरूलाई उहाँकहाँ यसो भन्न पठाए: "प्रभु, दुःख नउठाउनुहोस्; किनकि तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको पनि म छैनँ। 7 त्यसकारण म आफैँलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ। 8 किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा,’ भन्छु, र त्यो जान्छ। अनि अर्कोलाई ‘आइज,’ भन्छु; र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्,’ भन्छु, र त्यसले त्यो गर्छ।"
9 यो सुनेपछि येशू तिनीसँग आश्चर्यचकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्नुभयो, "म तिमीहरूलाई भन्दछु, मैले यस्तो ठूलो विश्वास इस्राएलीहरूमा पनि देखेको छैनँ।" 10 त्यसपछि पठाइएका ती मानिसहरू घरतिर फर्के। अनि सेवकलाई निको भइसकेको भेट्टाए।