येशूद्वारा विधवाको छोरा जीवित पारिएको
11 त्यसपछि चाँडै येशू नाइन भनिने एउटा सहरमा जानुभयो। उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँको साथमा गए। 12 उहाँ सहरको ढोकानिर पुग्नुहुँदा एउटा मृत व्यक्तिलाई सहरबाहिर लगिँदैथियो—जो आफ्नी विधवा आमाको एउटै मात्र छोरा थियो। सहरको एउटा ठूलो भीड ती विधवाको साथमा थियो। 13 प्रभुले तिनलाई देखेपछि उहाँ तिनीप्रति दयालु हुनुभयो र भन्नुभयो, "नरोऊ।"
14 त्यसपछि उहाँले गएर अरथीलाई छुनुभयो; र ती बोक्नेहरू टक्क अडिए। अनि उहाँले भन्नुभयो, "ए जवान, म तिमीलाई भन्दछु, उठ!" 15 तब त्यो मृत व्यक्ति उठेर बस्यो; त्यो बोल्न थाल्यो। येशूले त्यसलाई त्यसकी आमाको जिम्मा लगाउनुभयो।
16 तिनीहरू सबै भयभीत भएर परमेश्वरलाई प्रशंसा गर्दै भने, "हाम्रा बीचमा एक जना महान् अगमवक्ता प्रकट भएका छन्। परमेश्वर आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ।" 17 येशूको विषयमा यो खबर सारा यहूदिया प्रदेश र वरिपरिका सम्पूर्ण इलाकाभरि फैलियो।