येशूले बाह्र जनालाई पठाउनुभएको
1 एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। 2 अनि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो। 3 उहाँले तिनीहरूलाई भन्नुभयो: "यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा। 4 जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। 5 यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।" 6 तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए।