12 दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, "भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।"
13 उहाँले भन्नुभयो, "तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।"
तिनीहरूले जवाफ दिए, "गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।" 14 (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।)
तर उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, "तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।" 15 अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे। 16 ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो। 17 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।