यरूशलेममा येशूको विजयी प्रवेश
1 उहाँहरू जब यरूशलेमको नजिक जैतुन डाँडामा भएको बेथफागे र बेथानीमा आउनुभयो, तब येशूले आफ्ना चेलाहरूमध्ये दुई जनालाई 2 यसो भन्दै पठाउनुभयो, "तिमीहरूका पल्लो गाउँमा जाओ, र तिमीहरू त्यहाँ प्रवेश गरेपछि तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ। 3 यदि कसैले तिमीहरूलाई ‘तिमीहरू किन यसो गर्दैछौ?’ भनी सोध्यो भने त्यसलाई भन, ‘प्रभुलाई यसको खाँचो छ, र केही बेरमा यसलाई फर्काइदिनुहुनेछ।’ "
4 तिनीहरू गए र सडकबाहिर ढोकाको छेउमा एउटा बछेडोलाई बाँधिराखेको भेट्टाए। तिनीहरूले त्यसलाई फुकाउन लाग्दा, 5 त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे, "तिमीहरू त्यस बछेडोलाई फुकाएर के गरिरहेका छौ?" 6 तिनीहरूले येशूले भन्नुभएझैँ जवाफ दिए; अनि ती मानिसहरूले तिनीहरूलाई जान दिए। 7 जब तिनीहरूले त्यस बछेडोलाई येशूकहाँ ल्याए, तब तिनीहरूले आफ्ना लुगाहरू त्यसमाथि ओछ्याइदिए, र उहाँ त्यसमाथि बस्नुभयो। 8 धेरै मानिसहरूले आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए, र अरूहरूले चाहिँ खेतबाट काटेर ल्याएका हाँगाहरू फिँजाइदिए। 9 ती अगि-अगि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे,
"होसन्ना!"11:9 अर्थात् बचाउनुहोस्।
"उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!"11:9 भजन 118:25, 26
10 "हाम्रा पिता दावीदको आउने राज्य धन्यको हो!"
"परमधाममा होसन्ना!"
11 येशू यरूशलेममा आएर मन्दिरमा जानुभयो। उहाँले चारैतिर सबै कुरा हेर्नुभयो, तर अबेर भइसकेकोले उहाँ बाह्र जनासित बेथानीमा जानुभयो।