Publicidade

Cânticos 2

प्रेमिका

1 म त शारोनको गुलाफ,

बेँसीहरूको लिली फूल हुँ।

प्रेमी

2 युवतीहरूका बीचमा

मेरी प्रिय काँडाहरू बीचको लिली फूलझैँ छिन्।

प्रेमिका

3 युवकहरूका बीचमा मेरा प्रिय,

जङ्गलका रूखहरूका बीचमा स्याउको बोटजस्तै हुनुहुन्छ।

उहाँका छायामुनि बस्दा मलाई आनन्द लाग्दछ;

अनि उहाँको फल मलाई साह्रै मिठो लाग्छ।

4 उहाँले मलाई महाभोजको कोठामा लैजानुभयो;

र ममाथि उहाँको झण्डाचाहिँ उहाँको प्रेम हो।

5 प्रेम रोगले गर्दा म शिथिल भएकी छु,

यसकारण मलाई किसमिस खुवाएर बलियो बनाउनुहोस्;

स्याउ दिएर ताजा पार्नुहोस्!

6 उहाँको देब्रे हात मेरो शिरमुनि छ,

र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।

7 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई

मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु;

उचित समय नभएसम्म

प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ!

8 सुन, मेरा प्रियतम!

हेर, उहाँ आउँदैहुनुहुन्छ;

पर्वतहरूलाई पार गर्दै, डाँडाहरूमाथि फड्को मार्दै,

उहाँ आउँदैहुनुहुन्छ!

9 मेरा प्रिय एक मृगझैँ, अथवा जवान जरायोझैँ हुनुहुन्छ।

हेर, उहाँ हाम्रा पर्खालको पछिल्तिर उभिनुभएको छ;

झ्यालहरूबाट हेर्दै हुनुहुन्छ;

अनि आँखीझ्याल भित्रबाट चियाउँदै हुनुहुन्छ।

10 मेरा प्रियले बोल्नुभयो र मलाई भन्‍नुभयो,

"हे मेरी प्रियसी उठ,

हे मेरी सुन्दरी, मसित आऊ!

11 हेर, हिउँद बित्यो,

वर्षा पनि सकियो।

12 पृथ्वीमा फूलहरू देखा परेका छन्;

गीत गाउने समय आएको छ।

हाम्रो भूमिमा ढुकुरहरू

कुर्लेको सोर सुनिन्छ।

13 अञ्जीरको बोटमा फलहरू फल्न थाल्यो;

दाखले त फुलेर बास्‍ना फैलाउन थाल्यो।

उठ, आऊ, मेरी प्रिय,

हे मेरी सुन्दरी, मसित आऊ!"

प्रेमी

14 चट्टानका चिराहरूमा,

भिरपहराका गुप्‍त ठाउँहरूमा, लुकेर बसेकी मेरी ढुकुर;

मलाई तिम्रो अनुहार देखाऊ!

तिम्रो सोर सुन्‍न पाऊँ;

किनकि तिम्रो सोर मिठो छ;

र तिम्रो मुहार सुन्दर छ।

15 हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ;

साना फ्याउराहरू,

जसले दाखबारीमा फूलहरू फुलेका बेला

हाम्रा दाखबारीहरू नाश पार्दछन्।

प्रेमिका

16 मेरा प्रिय मेरै हुनुहुन्छ, र म उहाँकी हुँ;

उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।

17 जबसम्म बिहान हुँदैन,

र छायाहरू हराउँदैनन्,

हे मेरा प्रियतम, फर्कनुहोस्;

र मृगझैँ,

अथवा भिरालो डाँडाहरूमाथि हुने

घोर्ले जरायोझैँ हुनुहोस्!

Veja também

Publicidade
Cânticos
Ver todos os capítulos de Cânticos
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-