Publicidade

Cânticos 8

1 यदि तपाईं मेरी आमाको दूध खाएर हुर्केको,

मेरा दाजुभाइझैँ हुनुहुँदो हो त!

तपाईंलाई बाहिर भेट्दा

म म्वाइँ खानेथिएँ,

र कसैले मेरो निन्दा गर्ने थिएन।

2 तपाईंलाई डोर्‍याएर

म मेरी आमाको घरमा ल्याउनेथिएँ—

जुन आमाले मलाई शिक्षा दिएकी छन्।

म तपाईंलाई मसाला मिसाएको दाखमद्य,

मेरा अनारका रस पिउन दिनेथिएँ।

3 उहाँको देब्रे हात मेरो शिरमुनि छ,

र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।

4 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई शपथ खुवाएर आज्ञा गर्छु:

उचित समय नभएसम्म

प्रेमलाई नजगाओ अथवा नबिउँझाओ।

मित्रहरू

5 आफ्ना प्रेमीसित अडेसिएर

उजाडस्थानबाट आउँदैगरेका यिनी को हुन्?

प्रेमिका

स्याउको रूखमुनि मैले तपाईंलाई जगाएँ;

त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिइन्;

त्यहीँ नै तिनले सुत्केरी व्यथा लागेर तपाईंलाई जन्म दिएकी थिइन्।

6 मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्,

तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्;

किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ;

यसको तिर्सना चिहानझैँ कठोर हुन्छ।

यो दन्कने आगोसमान दन्कन्छ,

यो शक्तिशाली ज्वाला जस्तै हुन्छ।

7 उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन;

नदीले पनि त्यसलाई बगाउन सक्दैन।

यदि मानिसले प्रेमको निम्ति

आफ्नो घरको सारा धनसम्पत्ति दिइहाले तापनि

यो पूर्ण अवहेलना हुनेछ।

मित्रहरू

8 हाम्री एउटी जवान बहिनी छिन्,

जसका छाती उठेका छैनन्।

उनको विवाहको लागि कोही माग्न आएको दिनमा,

आफ्नी बहिनीको लागि हामी के गरौँ?

9 यदि ऊ पर्खाल भए त,

हामी ऊमाथि चाँदीका बुर्जा बनाउने थियौँ।

यदि ऊ ढोका हुँदो हो त,

हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौँ।

प्रेमिका

10 म एक पर्खाल हुँ,

र मेरा स्तनहरू धरहराहरूजस्तै छन्।

यसरी उहाँका नजरमा म

सन्तुष्‍टि तुल्याउने ठहरिएकी छु।

11 बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो;

आफ्नो दाखबारी मोहीहरूलाई दिए।

हरेकले दाखबारीका फलको सट्टामा

हजार सेकेल चाँदी ल्याउनुपर्थ्यो।

12 तर मेरो दाखबारी, जो मेरै अधिकार हो;

हे सोलोमन, ती हजार सेकेल तपाईंकै निम्ति हुन्,

र दुई सय ती फलफूल रेखदेख गर्नेहरूका निम्ति हुन्।

प्रेमी

13 तिमी, जो दाखबारीमा

आफ्ना मित्रहरूका साथमा बास गर्दछौ,

तिम्रो सोरलाई सुन्‍न देऊ!

प्रेमिका

14 हे मेरा प्रेमी, बाहिर आउनुहोस्,

र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा

हुने हरिणजस्तै अथवा

जवान मृगजस्तै हुनुहोस्!

Veja também

Publicidade
Cânticos
Ver todos os capítulos de Cânticos
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-