Publicidade

Isaías 1

1 यो आमोजका छोरा यशैयाले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा देखेको दर्शन हो।

बागी जाति

2 हे आकाश, सुन्! हे पृथ्वी, ध्यान दिएर सुन्!

किनकि याहवेह भन्‍नुहुन्छ:

"मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ,

तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्।

3 गोरुले आफ्नो मालिकलाई चिन्छ,

र गधाले आफ्नो मालिकको डुँड चिन्छ।

तर इस्राएलले चिन्दैन,

मेरा मानिसहरूले बुझ्दैनन्।"

4 धिक्‍कार, त्यस पापी जाति,

अपराधले लादिएको जाति,

दुष्‍ट काम गर्नेहरूका सन्तान,

भ्रष्‍ट भएका सन्तान!

तिनीहरूले याहवेहलाई त्यागेका छन्;

तिनीहरूले इस्राएलका पवित्र परमेश्‍वरलाई लत्याएका छन्,

र उहाँतिर आफ्ना पिठिउँ फर्काएका छन्।

5 तिमीहरू किन अझै पिटाइ खान्छौ?

तिमीहरू किन बागी भइरहन्छौ?

तिमीहरूका शिरभरि चोट-चोटै छ;

तिमीहरूका मुटुभरि पीडा छ।

6 खुट्टाको पैतालादेखि

शिरसम्म स्वस्थता छैन।

चोटहरू र निलो डामहरू,

र उदाङ्गो घाउहरू छन्;

ती घाउहरू सफा नगरिएका र पट्टी नबाँधिएका

अथवा तेलले सेकिएका छैनन्।

7 तिमीहरूको देश उजाड छ,

तिमीहरूका सहरहरू आगोले जलाइएका छन्;

तिमीहरूका खेतहरू तिमीहरूकै सामु

परदेशीहरूले उजाड पारिदिएका छन्;

अपरिचितहरूले नाश पारिदिएझैँ, त्यो उजाड भएको छ।

8 सियोनकी छोरी

दाखबारीको छाप्रोजस्तै,

काँक्राबारीमा भएको छाप्रोजस्तै,

घेरा हालिएको सहरजस्तै त्यागिएकी छ।

9 यदि सेनाहरूका याहवेहले

हामी कसैलाई बचाएर नराख्नुभएको भए

हामी सदोमझैँ हुनेथियौँ,

हामी गमोराजस्ता बन्‍नेथियौँ।

10 हे सदोमका शासकहरू हो,

याहवेहको वचन सुन;

हे गमोराका मानिसहरू हो,

हाम्रा परमेश्‍वरको व्यवस्था ध्यानसित सुन!

11 याहवेह भन्‍नुहुन्छ,

"तिमीहरूका बलिदानहरूको थुप्रो

मेरा निम्ति के कामको छ र?

मसित चाहिने भन्दा बढी

साँढे र मोटा-मोटा पशुहरूका होमबलि छन्।

साँढेहरू, थुमाहरू

र बाख्राहरूको रगतले म प्रसन्‍न हुँदिनँ।

12 जब तिमीहरू मसँग भेट्नलाई आउँछौ,

के तिमीहरूलाई कसैले

मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न भनेको छ र?

13 व्यर्थैका बलिहरू ल्याउन बन्द गर!

तिमीहरूका धूप त मेरा निम्ति घृणित छ।

औँसी, शब्बाथ दिन र सभाहरूका साथसाथै

तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ।

14 तिमीहरूका औँसीका चाडहरू,

र तिमीहरूले ठहराएका चाडहरूलाई म मेरो सारा प्राणले घृणा गर्छु।

ती मेरा निम्ति बोझ भएका छन्;

ती बोक्दा-बोक्दै म थकित भइसकेको छु।

15 तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा,

म आफ्ना आँखाहरू तिमीहरूबाट लुकाउनेछु;

तिमीहरूले धेरै प्रार्थना गरे तापनि

म त्यो सुन्‍नेछैनँ।

तिमीहरूका हातहरू रगतले भरिएका छन्!

16 आफूलाई धोएर शुद्ध पार।

तिमीहरूका दुष्‍ट कर्महरू मेरो दृष्‍टिबाट टाढा लैजाओ;

खराबी गर्न छोड।

17 भलाइ गर्न सिक; न्याय खोज।

थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ।

अनाथहरूका पक्षमा बोल;

विधवाहरूको मुद्दा लडिदेओ।"

18 याहवेह भन्‍नुहुन्छ,

"अब आओ, हामी एकसाथ विचार गरौँ।

तिमीहरूका पाप सिन्दूरे रङ्गका भए तापनि

ती हिउँजस्तै सेता हुनेछन्;

ती गाढा राता रङ्गका भए तापनि

ती ऊनजस्तै सेता हुनेछन्।

19 यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने,

तिमीहरूले देशका सर्वोत्तम कुराहरू खानेछौ;

20 तर यदि तिमीहरूले विरोध गर्‍यौ र बागी भयौ भने,

तिमीहरू तरवारले काटिनेछौ।"

किनकि याहवेहले बोल्नुभएको छ।

21 हेर, एउटा विश्‍वासयोग्य सहर

कसरी वेश्याजस्तै भयो!

कुनै समय त्यो न्यायपूर्ण थियो;

धार्मिकताले त्यसमा वास गर्थ्यो,

तर अहिले हत्याराहरूले वास गर्छन्!

22 तेरो चाँदी फोहोर भएको छ,

तेरो उत्तम दाखमद्यमा पानी मिसाइएको छ।

23 तेरा शासकहरू बागी,

र चोरहरूका साथीहरू बनेका छन्;

तिनीहरू सबैले घूस मन पराउँछन्,

र उपहारहरूको पछि लाग्छन्।

तिनीहरूले अनाथहरूका पक्ष लिदैनन्;

विधवाहरूको उजुर तिनीहरूकहाँ पुग्दैन।

24 यसकारण प्रभु, सेनाहरूका याहवेह

इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर घोषणा गर्नुहुन्छ:

"आह! म आफ्ना शत्रुहरूमाथि क्रोध खन्याउनेछु।

आफ्ना शत्रुहरूसँग म आफैँ बदला लिनेछु।

25 म आफ्नो हात तेरो विरुद्ध फर्काउनेछु;

म तेरो फोहोरलाई पूर्ण रूपमा सफा गर्नेछु,

र तेरा सबै अशुद्धताहरूलाई हटाइदिनेछु।

26 म तेरा न्यायकर्ताहरूलाई पुरानो समयमा भएकाजस्तै,

तेरा सल्‍लाहकारहरूलाई

सुरुका समयमा भएकाजस्तै फेरि स्थापित गर्नेछु।

त्यसपछि तँ धार्मिकताको सहर;

एउटा विश्‍वासयोग्य सहर भनिनेछस्।"

27 सियोन न्यायसित छुटाइनेछ।

त्यहाँका पश्‍चात्ताप गर्नेहरू धार्मिकतासँगै छुटाइनेछन्।

28 तर बागीहरू र पापीहरू दुवै तोडिनेछन्;

याहवेहलाई त्याग्नेहरू नाश हुनेछन्।

29 "तिमीहरूले आनन्द मानेका ती फलाँटका पवित्र रूखहरूको कारण

तिमीहरू लज्जित हुनेछौ;

तिमीहरूले रोजेका ती बगैँचाहरूको कारण नै

तिमीहरू अपमानित हुनेछौ।

30 तिमीहरू पात झर्दै गरेका फलाँटका रूखहरूजस्तै,

पानी नभएका बगैँचाजस्तै हुनेछौ।

31 शक्तिशाली मानिस सुकेको दाउरा

र त्यसको काम झिल्काजस्तै हुनेछ;

ती दुवै एकैसाथ जल्नेछन्,

त्यो आगोलाई निभाउने कोही हुनेछैन।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-