Publicidade

Isaías 51

सियोनको निम्ति अनन्तको उद्धार

1 "हे धार्मिकताको पछि लाग्नेहरू

र याहवेहलाई खोज्नेहरू हो, मेरो कुरा सुन:

तिमीहरू जुन चट्टानबाट निकालिएका

र जुन खानिबाट कुँदिएका थियौ, त्यसलाई हेर।

2 तिमीहरूका पुर्खा अब्राहाम,

र तिमीहरूलाई जन्माउने सारालाई हेर।

मैले उसलाई बोलाउँदा ऊ एकलै थियो;

अनि मैले उसलाई आशिष् दिएँ, उसलाई संख्यामा बढाएँ।

3 निश्‍चय नै याहवेहले सियोनलाई सान्त्वना दिनुहुनेछ,

र त्यसका सबै भग्नावशेषहरूलाई दयाको नजरले हेर्नुहुनेछ;

उहाँले त्यसका मरुभूमिहरूलाई

अदनझैँ र त्यसका बाँझो जमिनहरूलाई याहवेहको बगैँचाजस्तै बनाउनुहुनेछ।

अनि त्यसमा आनन्द, खुशीयाली,

धन्यवाद र गीतको ध्वनि पाइनेछन्।

4 "हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ;

हे मेरो जाति हो, मेरो कुरा सुन:

मबाट व्यवस्था निस्कनेछ;

मेरो न्याय राष्ट्रहरूको ज्योति हुनेछ।

5 मेरो धार्मिकता नजिक छ,

मेरो उद्धार आउँदैछ;

अनि मेरो बाहुलीले राष्ट्रहरूमा न्याय ल्याउनेछ।

टापुहरूले मतिर हेर्नेछन्,

र मेरो बाहुलीको निम्ति आशा लिएर प्रतीक्षा गर्नेछन्।

6 तिमीहरूका आँखा आकाशतिर उठाओ,

तल पृथ्वीमा हेर;

आकाश धुवाँझैँ लोप भइजानेछ;

पृथ्वी लुगाझैँ मक्‍किएर जानेछ,

र यसका बासिन्दाहरू झिँगाझैँ मरिजाने छन्।

तर मेरो उद्धार सदासर्वदा रहनेछ;

मेरो धार्मिकता कहिल्यै चुक्नेछैन।

7 "जे असल छ, त्यो जान्‍नेहरू

र तिमीहरू, जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन।

मानिसहरूका बदनामदेखि नडराओ,

न त तिनीहरूको अपमानदेखि भयभीत होओ।

8 किनकि तिनीहरूलाई किराले लुगा खाएझैँ खानेछन्;

अनि तिनीहरूलाई किराले ऊन खाएझैँ खानेछन्।

तर मेरो धार्मिकता सदासर्वदा रहिरहनेछ;

मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै रहिरहनेछ।"

9 जाग, जाग! हे याहवेहको बाहुली,

आफैँलाई शक्ति धारण गर;

बितेका समयमा झैँ,

पुराना पुस्ताहरूमा झैँ जाग!

के राहाबलाई टुक्रा-टुक्रा पार्ने तपाईं नै हुनुहुन्‍न?

जसले त्यस अजिङ्गरलाई वारपार छेडिदिनुभयो।

10 के तपाईं त्यही हुनुहुन्‍न? जसले समुद्र सुकाउनुभयो,

अथाह समुद्रको पानी सुकाउनुभयो;

अनि आफूले उद्धार गर्नुभएकाहरूलाई पार गर्नका निम्ति

समुद्रको गहिराइमा मार्ग बनाइदिनुभयो?

11 याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्।

तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्;

तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ।

तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्;

अनि दुःख र सुस्केरा हराएर जानेछन्।

12 "म, हो! म नै हुँ, जसले तिमीहरूलाई सान्त्वना दिन्छु।

मरणशील मानिसदेखि घाँसजस्तै ओइलाउने

मानिसका सन्तानदेखि डराउने तिमीहरू को हौ?

13 तिमीहरू आफ्नो सृष्‍टिकर्ता याहवेहलाई भुल्छौ,

जसले आकाश फिँजाउनुभयो

र पृथ्वीका जगहरू बसाल्नुभयो;

तिमीहरूलाई नाश गर्न इच्छुक रहने

अत्याचारीहरूका क्रोधसित

तिमीहरू दिनहुँ डराएर बस्छौ?

ती अत्याचारीहरूका क्रोध कहाँ छ?

14 डरले काँपिरहेका कैदीहरू चाँडै मुक्त भइजानेछन्;

तिनीहरू आफ्ना खाडलहरूमा मर्नेछैनन्,

न त तिनीहरूलाई रोटीको अभाव हुनेछ।

15 किनकि म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ,

जसले समुद्रलाई उथलपुथल गर्छ, र त्यसका छालहरू गर्जन्छन्;

जसको नाम सेनाहरूका याहवेह हो।

16 मैले तेरो मुखमा आफ्नो वचन हालिदिएको छु;

अनि तँलाई आफ्नो हातको छायाले ढाकेको छु;

मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु,

जसले पृथ्वीको जग बसालेको छु,

र सियोनलाई, ‘तँ मेरो प्रजा होस् भनेको छु।’ "

याहवेहको क्रोधको कचौरा

17 जाग्, जाग्!

हे यरूशलेम उठ्,

तिमीहरू जसले याहवेहको हातबाट,

उहाँको क्रोधको कचौरा पिएका छौ;

तिमीहरू जसले कचौरामा भएको धरमराइदिने मद्य

पूरै पिएर रित्याएका छौ।

18 त्यसले जन्माएका छोराहरूमध्ये

त्यसलाई अगुवाइ गर्ने कोही पनि थिएन;

त्यसले हुर्काएका छोराहरूमध्ये

त्यसको हात समात्ने कोही पनि थिएन।

19 यी दुवै विपत्तिहरू तँमाथि आएका छन्—

तँलाई कसले सान्त्वना दिन सक्छ?

विध्वंश र सर्वनाश, अनिकाल र तरवार—

कसले तँलाई सान्त्वना दिन सक्छ र?

20 तेरा छोराहरू बेहोस छन्;

तिनीहरू पासोमा परेका मृगझैँ

हरेक गल्‍लीका कुनामा पल्टिरहेका छन्।

तिनीहरू याहवेहको क्रोध,

र तेरा परमेश्‍वरको हप्कीले भरिएका छन्।

21 यसकारण यो कुरा सुन्, तँ दुःखित

र दाखमद्यविना मात्तिएकी होस्।

22 आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुने,

तेरा सर्वशक्तिमान् परमेश्‍वर, प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

"हेर्, तँलाई धरमराइदिने कचौरालाई

मैले तेरो हातबाट निकालिदिएको छु;

त्यस कचौराबाट, मेरो क्रोधको कचौराबाट

तैँले फेरि कहिल्यै पिउनेछैनस्।

23 तिमीहरूलाई सताउनेहरूको हातमा म क्रोधको कचौरा राखिदिनेछु,

जसले तँलाई भने,

‘घोप्टो पर्, र हामी तँमाथि टेकेर हिँडौँ।’

अनि तैँले आफ्नो पिठिउँलाई जमिनझैँ,

हिँड्नलाई सडकझैँ बनाइस्।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-