Publicidade

Isaías 43

इस्राएलका एक मात्र मुक्तिदाता

1 तर अब, हे याकोब, तँलाई रच्नुहुने,

हे इस्राएल, तँलाई सृष्‍टि गर्नुहुने,

याहवेह यसो भन्‍नुहुन्छः

"नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु;

मैले तँलाई नाम काढेर बोलाएको छु; तँ मेरै होस्।

2 तँ पानीबाट भएर जाँदा

म तँसित हुनेछु;

अनि तँ नदीहरूबाट भएर जाँदा

तिनले तँलाई बगाउनेछैनन्।

तँ आगोबाट हिँडेर जाँदा

तँ जल्नेछैनस्;

त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।

3 किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ;

इस्राएलका पवित्र परमेश्‍वर, तेरा उद्धारकर्ता हुनुहुन्छ।

तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु;

तेरो सट्टामा कूश र सेबा दिएँ।

4 मेरो दृष्‍टिमा तँ बहुमूल्य र आदरणीय छस्;

अनि मैले तँलाई प्रेम गरेको कारणले

म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई

तेरो जीवनको सट्टामा दिनेछु।

5 नडरा, किनकि म तँसित छु;

म तेरा सन्तानहरूलाई पूर्वबाट ल्याउनेछु,

र तँलाई पश्‍चिमबाट भेला गराउनेछु।

6 म उत्तरलाई भन्‍नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’

र दक्षिणलाई भन्‍नेछु, ‘तिनीहरूलाई नरोक्।’

मेरा छोराहरूलाई टाढा-टाढाबाट ल्याओ;

अनि मेरा छोरीहरूलाई पृथ्वीको छेउ-छेउबाट ल्याओ;

7 मेरो नामले बोलाइएको हरेकलाई,

जसलाई मैले आफ्नो महिमाको निम्ति सृष्‍टि गरेँ,

जसलाई मैले नै रचेँ।"

8 आँखा भएर अन्धा र कान भएर पनि

बहिरा हुनेहरूलाई डोर्‍याएर निकाल।

9 सबै जातिहरू एकसाथ जम्मा होऊन्;

अनि मानिसहरू भेला होऊन्।

तिनीहरूमध्ये कसले यो अगिबाटै बतायो;

अनि अगिका कुराहरूको हामीलाई घोषणा गर्‍यो?

तिनीहरू ठिक हुन् भनेर प्रमाणित गर्न तिनीहरूले साक्षीहरू ल्याऊन्,

ताकि अरूले सुनून् र "यो साँचो हो" भनून्।

10 "तिमीहरू मेरा साक्षी हौ; याहवेह घोषणा गर्नुहुन्छ,

मैले चुनेको मेरा सेवक,

ताकि म उही हुँ भनी तिमीहरूले जान्‍न सक;

अनि मलाई विश्‍वास गर्न र बुझ्न सक।

मभन्दा पहिले कुनै ईश्‍वर रचिएको थिएन,

न त मपछि कोही हुनेछ।

11 म हुँ, म नै याहवेह हुँ।

मबाहेक अरू कुनै उद्धारकर्ता छैन।

12 मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु—

तिमीहरूबीच भएको कुनै परदेशी देवताले होइन।

मेरा साक्षी तिमीहरू नै हौ," भनी याहवेह घोषणा गर्नुहुन्छ, कि, "म नै परमेश्‍वर हुँ,

13 हो, प्राचीनकालदेखि म उही हुँ।

मेरो हातबाट कसैले छुटाउन सक्दैन।

जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?"

परमेश्‍वरको कृपा र इस्राएलको अविश्‍वास

14 याहवेह, तिमीहरूका उद्धारक,

इस्राएलका पवित्र परमेश्‍वर भन्‍नुहुन्छ—

"तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु;

अनि सबै बेबिलोनीहरूलाई तिनीहरूले गर्व गरेका जहाजहरूमा

शरणार्थीहरूलाई झैँ ल्याउनेछु।

15 म नै याहवेह, तिमीहरूका पवित्र परमेश्‍वर,

इस्राएलका सृष्‍टिकर्ता, तिमीहरूका राजा हुँ।"

16 याहवेह यसो भन्‍नुहुन्छ,

जो समुद्रबाट बाटो बनाउनुहुने,

शक्तिशाली सागरमा मार्ग बनाउनुहुने,

17 रथ र घोडाहरू,

सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने,

तिनीहरू, जो फेरि उठ्न नसक्ने गरी लोटेका थिए;

सलेदो निभाइएझैँ निभाइएका थिए:

18 "पहिलेका कुराहरू नसम्झ,

बितेका कुराहरूमा नअल्झ।

19 हेर, म एउटा नयाँ काम गर्दैछु!

अहिले नै यो प्रष्‍ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ?

म मरुभूमिमा एउटा बाटो

र उजाडभूमिमा खोलाहरू बनाउँदैछु।

20 जङ्गली जनावरहरू, स्यालहरू

र उल्‍लुहरूले मलाई आदर गर्छन्;

किनकि म आफ्नो चुनिएको जातिलाई पिउनका निम्ति

मरुभूमिमा पानी

र उजाडस्थानमा खोलाहरू प्रबन्ध गर्छु।

21 मैले आफ्नै निम्ति रचेको जातिको निम्ति,

ताकि तिनीहरूले मेरो प्रशंसा घोषणा गरून्।

22 "तापनि हे याकोब, तैँले मलाई पुकार गरेको छैनस्;

हे इस्राएल, तैँले मेरो निम्ति आफैँलाई थकित पारेको छैनस्।

23 तैँले मेरो निम्ति होमबलिको भेडा ल्याएको छैनस्,

न त आफ्ना बलिदानहरूद्वारा मेरो आदर नै गरेको छस्।

मैले तँलाई अन्‍नबलिको बोझ बोकाएको छैनँ,

न त धूपको माग गरेर तँलाई थकित पारेको छु।

24 तैँले मेरा निम्ति बास्‍ना आउने बोझो ल्याएको छैनस्,

न त बलिदानका बोसोहरूमा धेरै खर्च गरेको छस्।

तर तैँले मलाई आफ्ना पाप बोकाएको छस्;

अनि तेरा अपराधहरूले मलाई थकित पारेको छस्।

25 "म उही हुँ,

जसले आफ्नै खातिर तेरा अधर्महरू मेटिदिन्छु,

र तेरा पापहरू कहिल्यै स्मरण गर्नेछैनँ।

26 मेरो निम्ति पहिलेका कुरा विचार गर्,

हामी आपसमा यस विषयमा तर्क गरौँ;

तेरो निर्दोषताको मुद्दा बता।

27 पहिलेका तेरो पुर्खाले पाप गरे;

तेरा प्रवक्ताहरूले मेरो विद्रोह गरे।

28 यसकारण म तेरो मन्दिरका उच्‍च शासकहरूलाई अपमान गर्नेछु;

अनि याकोबलाई नाशको निम्ति

र इस्राएललाई गिल्‍लाहका निम्ति सुम्पिदिनेछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-