Publicidade

Isaías 33

सङ्कष्‍ट र सहायता

1 धिक्‍कार तँ नाशकर्तालाई,

जो नष्‍ट पारिएको छैनस्!

धिक्‍कार तँ विश्‍वासघातीलाई,

जसले धोका पाएको छैनस्!

जब तैँले नष्‍ट गर्न छोड्छस्,

तब तँ नष्‍ट पारिनेछस्;

जब तैँले विश्‍वासघात गर्न छोड्छस्,

तब तिनीहरूले तँसँग विश्‍वासघात गर्नेछन्।

2 हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्;

हामी तपाईंको बाटो हेरिरहन्छौँ;

हरेक बिहान हाम्रो सामर्थ्य

र विपत्तिमा हाम्रो मुक्ति बन्‍नुहोस्।

3 तपाईंको सेनाको गर्जनको आवाजमा मानिसहरू भाग्छन्;

तपाईं खडा हुनुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्।

4 हे राष्ट्रहरू हो, तिमीहरूका लुटका सामान सलहहरूले झैँ कटनी गरिएको छ;

मानिसहरू लुटका सामानमा सलहका बथानझैँ झम्टन्छन्।

5 याहवेह अति महान् हुनुहुन्छ; किनकि उहाँ उच्‍च स्थानमा विराजमान हुनुहुन्छ;

उहाँले सियोनलाई न्याय र धार्मिकताले भरिदिनुहुनेछ।

6 उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग;

मुक्ति, बुद्धि र ज्ञानका मूल्यवान् भण्डार हुनुहुनेछ;

याहवेहको भय नै यस भण्डारको साँचो हो।

7 हेर, तिनीहरूका वीर मानिसहरू सडकहरूमा जोडसित रुन्छन्;

शान्तिका दूतहरू धुरुधुरु रुन्छन्।

8 राजमार्गहरू त्यागिएका छन्;

बाटोमा कुनै यात्री छैन।

सन्धि तोडिएको छ;

त्यसका गवाहीहरूलाई घृणा गरिन्छ;

कसैको आदर छैन।

9 देशले विलाप गर्छ र चिन्तामा छ;

लेबनान लज्जित भएर ओइलाउँछ;

शारोन अराबाझैँ छ,

बाशान र कर्मेलले आफ्ना पातहरू झार्छन्।

10 "अब म उठ्नेछु" याहवेह भन्‍नुहुन्छ।

"अब म उच्‍च पारिनेछु;

अब म उचालिनेछु।

11 तिमीहरूले भुसलाई गर्भधारण गर्छौ,

तिमीहरूले पराल जन्माउँछौ;

तिमीहरूका सास तिमीहरूलाई नै भस्म पार्ने आगो हो।

12 मानिसहरू चून जलेझैँ जल्नेछन्;

काटिएका काँडाघारी आगोमा जलाइएझैँ तिनीहरू जलाइनेछन्।"

13 हे टाढा-टाढाका मानिसहरू हो, मैले के-के गरेको छु, सो कुरा सुन!

तिमीहरू नजिक हुनेहरू, मेरो सामर्थ्य स्वीकार गर!

14 सियोनमा भएका पापीहरू आतङ्कित छन्;

भक्तिहीनलाई कम्पनले समातेको छ;

"हामीमध्ये को भस्म पार्ने आगोको साथमा बस्‍न सक्ला?

हामीमध्ये को अनन्तको जलनसित बस्‍न सक्ला?"

15 त्यही मानिस, जो धार्मिकतामा चल्छ,

र जे ठिक छ, त्यही बोल्छ;

जसले लुटको लाभलाई इन्कार गर्छ,

र आफ्नो हातलाई घूस लिनबाट अलग राख्छ,

जसले हत्याको षड्यन्त्रको विरुद्ध आफ्ना कान बन्द गर्छ,

र आफ्ना आँखा दुष्‍टता हेर्नबाट बन्द गर्छ;

16 यस्तो मानिस उच्‍च स्थानहरूमा वास गर्नेछ,

जसको शरणस्थान पहाडको किल्‍ला हुनेछ।

त्यसलाई रोटी जुटाइनेछ,

र त्यसलाई पानीको अभाव हुनेछैन।

17 तेरा आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछ,

र टाढासम्म फैलिएको देशलाई देख्नेछ।

18 तेरा विचारहरूमा तैँले पहिलेका आतङ्क सोच्नेछस्:

"त्यो प्रमुख अधिकृत कहाँ छ?

कर असुल गर्ने खोइ?

धरहराहरूको जिम्मामा रहेका अधिकृत कहाँ छन्?"

19 तैँले ती घमण्डी मानिसहरूलाई अब उसो देख्नेछैनस्;

ती अस्पष्‍ट बोली भएका मानिसहरूलाई,

जसको बोली बुझिँदैन।

20 हाम्रा चाडहरूको सहर, सियोनलाई हेर;

तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछ;

एउटा शान्तिपूर्ण वासस्थान, त्यो पाललाई सारिनेछैन;

त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्;

न त त्यसका कुनै डोरी चुँडाइनेछ।

21 त्यहाँ याहवेह हाम्रो पराक्रमी परमेश्‍वर हुनुहुनेछ।

त्यो चौडा नदीहरू र खोलाहरू भएको ठाउँजस्तै हुनेछ।

पतवारले चलाइने कुनै युद्ध जहाज त्यहाँ चल्नेछैन;

कुनै शक्तिशाली जहाज त्यहाँबाट भएर चल्नेछैन।

22 किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ;

याहवेह हाम्रो व्यवस्थादाता हुनुहुन्छ;

याहवेह हाम्रा राजा हुनुहुन्छ;

हामीलाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ।

23 तेरा डोरीहरू खुकुला भएका छन्:

मस्तुल सुरक्षित राखिएको छैन,

पाल फिँजिएको छैन।

तब लुटका प्रशस्त माल बाँडिनेछ,

र लङ्गडाहरू समेतले लुटको माल लैजानेछन्।

24 सियोनमा बस्‍ने कसैले पनि, "म बिरामी छु" भन्‍नेछैन;

अनि त्यहाँ बस्‍नेहरू सबैका पाप क्षमा गरिनेछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-