Pular para o conteúdo
Publicidade

यशैया 13

बेबिलोनको विरुद्ध भविष्यवाणी

1 आमोजको छोरा यशैयाले बेबिलोनको विषयमा देखेका भविष्यवाणी:

2 नाङ्गो डाँडाको टुप्पामाथि एउटा झण्डा खडा गर;

तिनीहरूतर्फ उच्‍च सोरले कराओ;

तिनीहरू कुलीन मानिसहरूका

मूलढोकाभित्र प्रवेश गरून्।

3 मैले आफ्नो क्रोध खन्याउन आफ्ना पवित्र जनहरूलाई बोलाइपठाएको छु:

युद्धका निम्ति तयार पारेका आफ्ना योद्धाहरूलाई आज्ञा गरेको छु,

जो मेरो विजयमा रमाउँछन्।

4 पहाडहरूमा ठूलो भीडको खैलाबैलाजस्तो

होहल्‍ला सुन्!

जातिहरू एकसाथ भेला भएझैँ,

राज्यहरूको बीचमा होहल्‍ला सुन्!

सेनाहरूका याहवेहले युद्धका निम्ति

सेना बटुल्दै हुनुहुन्छ।

5 याहवेह र उहाँका रिसका हतियारहरू

टाढा देश, आकाशको पल्‍लो छेउदेखि

सारा देशलाई नाश गर्न आउँछन्।

6 विलाप गर्! किनकि याहवेहको दिन नजिकै छ;

सर्वशक्तिमान्‌को तर्फबाट सर्वनाशजस्तै त्यो आउनेछ।

7 यसैले सबै हातहरू लुला हुनेछन्।

हरेक मानिसको हृदय पग्लनेछ।

8 तिनीहरू त्रसित हुनेछन्;

तिनीहरूलाई कष्‍ट र वेदनाले पक्रनेछन्;

तिनीहरू प्रसव-वेदनामा परेकी स्त्रीझैँ छटपटाउनेछन्।

तिनीहरू हैरान भएर एक-अर्कातिर हेर्नेछन्;

तिनीहरूका अनुहारहरू डरले गर्दा फिका हुनेछन्।

9 हेर, याहवेहको दिन देशलाई उजाड पार्न

र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न,

रिस र भयानक क्रोधको साथ

निष्‍ठुर दिन आइरहेछ।

10 आकाशका ताराहरू र तिनीहरूका नक्षत्रहरूले

आफ्ना प्रकाश देखाउनेछैनन्।

उदाउँदै गरेको सूर्य अँध्यारो हुनेछ;

अनि चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन।

11 म संसारलाई त्यसको दुष्‍टताको लागि,

र दुष्‍टहरूलाई तिनीहरूका पापको लागि दण्ड दिनेछु।

म अभिमानीहरूको घमण्डको अन्त्य गरिदिनेछु,

र निष्‍ठुरहरूको घमण्डलाई चुर पारिदिनेछु।

12 म मानिसहरूलाई निखुर सुनभन्दा दुर्लभ बनाउनेछु,

ओपीरको सुनभन्दा दुर्लभ।

13 यसकारण म आकाशहरूलाई थरथर काम्ने तुल्याउनेछु;

सेनाहरूका याहवेहको क्रोधको दिनमा,

उहाँको बल्दो रिसको दिनमा

पृथ्वी आफ्नो ठाउँमा हल्‍लिनेछ।

14 खेदिएको हरिणझैँ,

गोठाला नभएको भेडाहरूझैँ,

सबै आफ्नै मानिसकहाँ फर्कनेछन्;

आफ्नै जन्मभूमिमा भागेर जानेछन्।

15 पक्राउ परेका जोसुकै पनि रोपिनेछन्;

समातिएका जति सबै तरवारद्वारा मारिनेछन्।

16 तिनीहरूका शिशुहरू तिनीहरूकै आँखाहरूका सामु पछारेर टुक्रा-टुक्रा पारिनेछन्;

तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका पत्नीहरू बलात्कृत हुनेछन्।

17 हेर, म तिनीहरूको विरुद्ध मादीहरूलाई सुर्‍याउनेछु,

जसले चाँदीको वास्तै गर्दैनन्,

र सुनमा प्रसन्‍न हुँदैनन्।

18 तिनीहरूका धनुले जवान मानिसहरूलाई लडाउनेछन्;

शिशुहरूमाथि तिनीहरूले दया देखाउनेछैनन्,

न त तिनीहरूले बालबालिकाहरूप्रति कृपा देखाउनेछन्।

19 राज्यहरूको रत्न बेबिलोन,

बेबिलोनीहरूका13:19 अथवा कल्दीहरू घमण्डको गौरवलाई

परमेश्‍वरले सदोम र गमोराझैँ

पल्टाइदिनुहुनेछ।

20 त्यहाँ कहिल्यै कोही बसोबास गर्नेछैन,

अथवा पुस्तौँसम्म कोही बस्‍नेछैनन्;

कुनै घुमन्तेलेधरि13:20 मूल भाषामा अरबीहरू त्यहाँ आफ्नो पाल टाँग्नेछैन;

कुनै गोठालाले त्यहाँ आफ्नो बगाललाई विश्राम दिनेछैन।

21 तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्;

तिनका घरहरू स्यालहरूले भरिनेछन्;

उल्‍लुहरू त्यहाँ बस्‍नेछन्,

र जङ्गली बाख्राहरू त्यहाँ उफ्रँदै खेल्नेछन्।

22 हुँडारहरू तिनका किल्‍लाहरूमा

तिनका आनन्दको महलहरूमा स्यालहरू कराउनेछन्।

बेबिलोनको समय नजिक आएको छ,

चाँडै यी सबै पूरा हुनेछन्।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.