Publicidade

Isaías 64

1 अहो, तपाईं आकाश च्यातेर तल ओर्ली आउनुभए त,

पर्वतहरू पनि तपाईंको सामु काँप्ने थिए!

2 आगोले झारपात जलाएझैँ

र पानी उमालेझैँ,

तपाईंको नाम तपाईंका शत्रुहरूलाई प्रकट गर्न,

र जातिहरू तपाईंको उपस्थितिमा थरथर काँप्नलाई तपाईं ओर्लेर आउनुहोस्!

3 किनकि जब तपाईंले हामीले नचिताएका अद्‌भुत कुराहरू गर्नुभयो,

तब तपाईं तल आउनुभयो, र तपाईंको सामु पर्वतहरू थरथर कामे।

4 प्राचीनकालदेखि नै तपाईंबाहेक अर्को परमेश्‍वरको बारेमा कसैले सुनेका छैनन्;

कुनै कानले सुनेको छैन,

कुनै आँखाले देखेको छैन;

तपाईंले आफूमाथि प्रतीक्षा गर्नेहरूको निम्ति काम गर्नुहुन्छ।

5 जसले खुशीसाथ ठिक काम गर्छन्,

जसले तपाईंका मार्गहरू सधैँ सम्झन्छन्;

तपाईं तिनीहरूको सहायताको निम्ति आउनुहुन्छ।

तर जब हामीले तपाईंका मार्गहरूको विरुद्ध पाप गरिरह्‍यौँ,

तब तपाईं हामीसित रिसाउनुभयो।

अब हामी कसरी बचाइन सक्छौँ?

6 हामी सबै अशुद्ध थोकझैँ भएका छौँ,

र हाम्रा सबै धार्मिक कामहरू फोहोर झुत्राझैँ छन्;

हामी सबै पातझैँ ओइलाइहाल्छौँ,

र हाम्रा पापहरूले हामीलाई हावाझैँ उडाइलैजान्छन्।

7 कसैले पनि तपाईंको नाम पुकार्दैनन्,

न त तपाईंलाई पक्रिरहने उत्कट प्रयास गर्छन्;

किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ,

र हामीलाई हाम्रा पापहरूकै हातमा छोडिदिनुभएको छ।

8 तापनि हे याहवेह, तपाईं हाम्रा पिता हुनुहुन्छ।

हामी माटो हौँ र तपाईं कुमाले हुनुहुन्छ;

हामी सबै तपाईंकै हातका काम हौँ।

9 हे याहवेह, हामीसित ज्यादै क्रोधित नहुनुहोस्;

हाम्रा पापहरू सधैँभरि नसम्झनुहोस्।

बिन्ती छ, हामीतिर हेर्नुहोस्;

किनकि हामी सबै तपाईंका प्रजा हौँ।

10 तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्;

सियोनसमेत मरुभूमि भएको छ, यरूशलेम ध्वस्त भएको छ।

11 हाम्रा पवित्र र महिमित मन्दिर,

जहाँ हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेका थिए,

त्यो ठाउँ आगोले जलाइएको छ;

अनि हाम्रा बहुमूल्य थोकहरू सबै सर्वनाश भएका छन्।

12 यी सबै कुरा भएर पनि, हे याहवेह, के तपाईं आफूलाई रोकिराख्नुहुन्छ?

के तपाईं चुपचाप रहनुहुन्छ र हामीलाई धेरै कष्‍ट दिनुहुन्छ?

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-