Publicidade

Isaías 53

1 कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ?

र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ?

2 ऊ उहाँको सामु कलिलो टुसाजस्तो,

र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो।

ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन;

उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन।

3 मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो,

दुःखित मानिस, जो कष्‍टसित परिचित थियो।

ऊ त्योजस्तो थियो, जसलाई देखेर

मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्;

ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।

4 निश्‍चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो;

अनि हाम्रा कष्‍टहरूलाई बोक्यो,

तर हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको,

उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।

5 तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो।

ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो;

हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्‍यो;

अनि उसका चोटहरूले हामी निको भयौँ।

6 हामी सबै भेडाहरूझैँ बरालिएका छौँ;

हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ।

याहवेहले उसैमाथि

हामी सबैका अपराधहरू राखिदिनुभएको छ।

7 उसलाई सताइयो र उसलाई कष्‍ट दिइयो,

तर पनि उसले आफ्नो मुख खोलेन;

उसलाई मारिन लगिएको थुमाझैँ लगियो;

ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ,

उसले आफ्नो मुख खोलेन।

8 अत्याचार र न्यायद्वारा भएर ऊ लगियो।

अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ?

किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो;

र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो।

9 उसको चिहान दुष्‍टहरूसित बनाइयो,

तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो;

किनकि उसले कुनै अत्याचार गरेको थिएन,

न त उसको मुखमा कुनै छल नै थियो।

10 तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्‍ट दिन इच्छा लाग्यो;

याहवेहले उसको जीवनलाई दोषबलि बनाउनुभए तापनि

उसले आफ्नो सन्तान देख्नेछ, र उसका दिनहरू बढाइनेछन्;

अनि उसको हातमा याहवेहको इच्छा पूरा हुनेछ।

11 उसको प्राणको कष्‍टपछि

उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्‍ट हुनेछ।

आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ;

अनि उसले तिनीहरूका अधर्म बोक्नेछ।

12 यसकारण म उसलाई महान्‌हरूसित एउटा भाग दिनेछु;

अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ;

किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ;

ऊ अधर्मीहरूसित गनियो।

किनकि उसले चाहिँ धेरैको पाप बोक्यो,

र अपराधीहरूका निम्ति बिन्ती गर्‍यो।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-