Publicidade

Isaías 55

तिर्खाएकाहरूलाई निमन्त्रणा

1 "हे सबै तिर्खाएकाहरू हो,

पानीनिर आओ;

जससित धन छैन, तिमीहरू पनि आओ,

र किनेर खाओ!

आओ, विनाधन, विनामूल्य

दाखमद्य र दूध किन!

2 जे कुरा रोटी होइन, त्यसका निम्ति तिमीहरू किन रकम खर्च गर्छौ;

अनि जुन कुराले सन्तुष्‍ट पार्दैन, त्यसको निम्ति किन परिश्रम गर्छौ?

सुन, मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ,

ताकि तिमीहरूको प्राण उत्तम भोजनमा तृप्‍त हुन सकोस्।

3 कान थाप र मकहाँ आओ;

मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक।

म तिमीहरूसित अनन्तको करार बाँध्नेछु;

दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासयोग्य प्रेम।

4 हेर, मैले त्यसलाई जातिहरूका बीच साक्षी बनाएको छु;

मानिसहरूका शासक र सेनापति ठहराएको छु।

5 निश्‍चय तिमीहरूले नजानेका राष्ट्रहरूलाई तिमीहरू बोलाइपठाउनेछौ;

अनि याहवेह इस्राएलका पवित्र परमेश्‍वरका कारण

तिमीहरूलाई नचिनेका जातिहरू

तिमीहरूतिर हतारसाथ आउनेछन्;

किनकि उहाँले तिमीहरूलाई गौरवले भर्नुभएको छ।"

6 जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज!

उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!

7 दुष्‍टले आफ्नो चाल,

र अधर्मीले आफ्नो विचार त्यागोस्।

तिनीहरू याहवेहतिर फर्कून्,

र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ;

अनि हाम्रा परमेश्‍वरतर्फ फर्कून्;

किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ।

8 "किनकि मेरा विचार तिमीहरूका विचार होइनन्,

न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्"

याहवेह घोषणा गर्नुहुन्छ।

9 "जसरी आकाश पृथ्वीभन्दा उच्‍च छ,

त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्‍च छन्;

अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्‍च छन्।

10 जसरी वर्षा र हिउँ

आकाशबाट झर्छ,

र पृथ्वीलाई नभिजाएसम्म

र त्यसमा कोपिला लागेर उब्जनी नदिएसम्म,

त्यसले छर्नेलाई बिउ

र खानेलाई भोजन नदिएसम्म फर्केर जाँदैन;

11 त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ:

त्यो मकहाँ व्यर्थै फर्कनेछैन,

तर त्यसले मैले इच्छा गरेको काम सम्पन्‍न गर्छ;

अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्‍त गर्छ।

12 तिमीहरू आनन्दमा जानेछौ,

र शान्तिमा डोर्‍याइनेछौ;

पर्वतहरू र डाँडाहरूले तिमीहरूको सामु

जोडसित गीत गाउनेछन्;

अनि वनका रूखहरूले

ताली बजाउनेछन्।

13 काँडाहरूको सट्टा सल्‍लाका रूखहरू उम्रनेछन्;

अनि लुहुँडेकाँडाको सट्टामा मेहदी उम्रनेछ;

त्यो कुरा याहवेहको ख्यातिको निम्ति

अनन्तको चिन्हको रूपमा हुनेछ,

जुन सदाको निम्ति रहनेछ।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-