Publicidade

Isaías 60

सियोनको महिमा

1 "प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ,

र याहवेहको महिमा तँमाथि उदाएको छ।

2 हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ,

र मानिसहरूमाथि बाक्लो अन्धकार छ,

तर याहवेह तँमाथि उदाउनुहुनेछ;

अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ।

3 जातिहरू तेरो प्रकाशमा आउनेछन्,

र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्।

4 "तेरा आँखा उठाएर चारैतिर हेर्:

सबै भेला भएर तँकहाँ आउँछन्;

तेरा छोराहरू टाढाबाट आउनेछन्,

र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्।

5 तब तैँले हेर्नेछस् र चम्कनेछस्;

तेरो हृदय उल्‍लासित हुनेछ र आनन्दले फुल्नेछ;

समुद्रको सम्पत्ति तँकहाँ ल्याइनेछ;

जातिहरूका धन तँकहाँ आउनेछ।

6 ऊँटहरूका बथान, मिद्यान र एपाका

साना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ।

शेबाबाट सबै मानिसहरू

याहवेहको प्रशंसाको घोषणा गर्दै

सुन र धूप बोकेर आउनेछन्।

7 केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्;

नबायोतका भेडाहरूले तेरो सेवा गर्नेछन्;

मेरो वेदीमा ती भेटीस्वरूप ग्रहण गरिनेछन्,

र म आफ्नो महिमित मन्दिरलाई सिँगार्नेछु।

8 "बादलझैँ उड्ने,

र आफ्ना गुँडतिर उड्ने ढुकुरहरूजस्ता यी को हुन्?

9 निश्‍चय नै टापुहरूले मलाई हेर्नेछन्;

टाढाबाट तेरा बालबच्‍चाहरूलाई ल्याउँछन्,

तिनीहरूका सुन र चाँदी लिएका

तर्शीशका जहाजहरू अगि-अगि छन्;

ती सबै याहवेह तेरा परमेश्‍वर,

इस्राएलका पवित्र परमेश्‍वरलाई सम्मान दिनका निम्ति हो;

किनकि उहाँले तँलाई गौरवले सम्मानित तुल्याउनुभएको छ।

10 "विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्,

र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्।

मैले रिसमा तँलाई प्रहार गरे तापनि

मेरो निगाहमा म तँलाई दया देखाउनेछु।

11 तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्;

ती मुलढोकाहरू दिन र रात कहिल्यै बन्द हुनेछैनन्,

ताकि मानिसहरूले तँकहाँ जातिहरूका धनसम्पत्ति ल्याउन सकून्,

अर्थात् तिनीहरूका राजाहरू विजयी जुलूसको साथ पस्‍न सकून्।

12 किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्;

त्यो पूर्ण रूपमा सर्वनाश पारिनेछ।

13 "लेबनानको गौरव तँकहाँ आउनेछ,

सल्‍ला, धूपी र सिसौका रूखहरूसमेत,

मेरो पवित्रस्थानलाई सिँगार्न ल्याइनेछन्;

अनि म आफ्ना पवित्रस्थानलाई महिमित तुल्याउनेछु।

14 तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्;

तँलाई घृणा गर्ने सबै तेरो पाउमा झुक्नेछन्,

र तँलाई याहवेहको सहर,

इस्राएलका पवित्र परमेश्‍वरको सियोन भन्‍नेछन्।

15 "तँ त्यागिएकी र घृणित भएकी,

तँबाट भएर यात्रा गर्ने कोही नगए तापनि

म तँलाई अनन्तको निम्ति महान्

र पुस्तौँ-पुस्ताहरूका निम्ति आनन्द बनाउनेछु।

16 तैँले जातिहरूको दूध पिउनेछस्,

र राजकीय स्तन चुस्‍नेछस्।

तब तैँले जान्‍नेछस्, कि म याहवेह नै तेरो मुक्तिदाता,

तेरो उद्धारकर्ता, याकोबका सर्वशक्तिमान् परमेश्‍वर हुँ।

17 म तँलाई काँसाको सट्टामा सुन

र फलामको सट्टामा चाँदी ल्याइदिनेछु।

म तँलाई काठको सट्टामा काँसा

र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु।

म शान्तिलाई तेरा राज्यपाल

र धार्मिकतालाई तेरा शासक तुल्याइदिनेछु।

18 तेरो देशमा फेरि हिंसा सुनिनेछैन,

न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ,

तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्‍नेछस्

र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्।

19 अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन,

न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ;

किनकि याहवेह नै तेरो निम्ति अनन्तको ज्योति हुनुहुनेछ;

अनि तेरा परमेश्‍वर तेरो महिमा हुनुहुनेछ।

20 तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन,

र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन;

याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ;

अनि तेरा दुःखका दिनहरू समाप्‍त हुनेछन्।

21 तब तेरा सबै मानिसहरू धार्मिक हुनेछन्;

अनि तिनीहरूले सदाको निम्ति देशमाथि अधिकार गर्नेछन्।

मेरो महानता देखाउनको निम्ति,

मैले रोपेका बिरुवाहरू,

मेरा हातका कामहरू तिनीहरू नै हुन्।

22 तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ;

अनि सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ।

म नै याहवेह हुँ;

म यी प्रतिज्ञाहरू त्यसको समयमा र चाँडै पूरा गर्नेछु।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-