Publicidade

Isaías 25

याहवेहलाई प्रशंसा

1 हे याहवेह, तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ;

म तपाईंलाई उच्‍च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु;

किनकि पूर्ण विश्‍वासयोग्यतामा

तपाईंले अद्‌भुत कार्यहरू गर्नुभएको छ;

ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए।

2 तपाईंले सहरलाई ढुङ्गाको थुप्रोझैँ पारिदिनुभयो।

अनि सुरक्षित नगरलाई ध्वंस बनाइदिनुभएको छ।

परदेशीहरूका शक्तिशाली गढ अब सहर रहेन;

त्यो फेरि कहिल्यै बनाइनेछैन।

3 यसकारण बलवान् मानिसहरूले तपाईंलाई आदर गर्नेछन्;

निष्‍ठुर जातिहरूका सहरहरूले तपाईंलाई सम्मान गर्नेछन्।

4 तपाईं गरिबहरूका निम्ति,

कष्‍टमा परेकाहरूका निम्ति,

आँधीबतासमा शरण

र गर्मीबाट जोगाउने छाया हुनुभएको छ।

किनकि निष्‍ठुरहरूको सास

पर्खालमा ठोक्‍किने आँधी,

5 र मरुभूमिको गर्मीझैँ हो।

तपाईंले परदेशीहरूको खैलाबैला बन्द गराउनुहुन्छ;

गर्मीलाई बादलको छायाले कम गरिदिएझैँ,

निष्‍ठुरहरूको गीत बन्द गराइन्छ।

6 यस पर्वतमा सेनाहरूका याहवेहले

सबै मानिसहरूका निम्ति मिठा-मिठा थोकहरू,

छिप्पिएको मद्यको ठूलो भोज,

सर्वोत्तम मासु र सर्वोत्तम मद्य तयार पार्नुहुनेछ।

7 यस पर्वतमा उहाँले

सबै मानिसहरूलाई ढाक्ने वस्त्र,

र सबै जातिहरूलाई छोप्ने तन्‍ना नष्‍ट गर्नुहुनेछ;

8 उहाँले मृत्युलाई सधैँको निम्ति निलिदिनुहुनेछ।

प्रभु याहवेहले सबै अनुहारहरूबाट

आँसु पुछिदिनुहुनेछ;

उहाँले समस्त पृथ्वीबाट

आफ्ना मानिसहरूका अपमान हटाइदिनुहुनेछ।

याहवेह बोल्नुभएको छ।

9 त्यस दिन तिनीहरूले यसो भन्‍नेछन्,

"निश्‍चय उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ;

हामीले उहाँमा भरोसा राख्यौँ, र उहाँले हामीलाई बचाउनुभयो।

उहाँ नै याहवेह हुनुहुन्छ, र हामीले उहाँमाथि भरोसा राख्यौँ;

हामी उहाँले दिनुभएको मुक्तिमा आनन्दित होऔँ र रमाऔँ।"

10 किनकि यस पर्वतमा याहवेहको हात रहनेछ;

तर मोआबचाहिँ मलमा पराल

कुल्चीमिल्ची पारिएझैँ तिनीहरूको देशमा कुल्चीमिल्ची पारिनेछ।

11 पौडी खेल्नेले पौडी खेल्दा आफ्ना हात पसारेझैँ,

तिनीहरूले त्यसमा आफ्ना हात पसार्नेछन्।

तिनीहरूले आफ्ना हातको चतुरता देखाए तापनि

परमेश्‍वरले तिनीहरूका घमण्ड चुर पार्नुहुनेछ।

12 उहाँले तेरा अग्ला-अग्ला सुरक्षित पर्खालहरू ढालिदिनुहुनेछ,

र ती होच्याइनेछन्;

उहाँले ती भुइँमा खसाइदिनुहुनेछ,

र ती धुलोमै मिलाउनुहुनेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-