Publicidade

Isaías 59

पाप, पश्‍चात्ताप र छुटकारा

1 हेर, याहवेहको हात बचाउन नसक्ने गरी छोटो भएको छैन,

न त उहाँको कान सुन्‍न नसक्ने गरी बहिरो भएको छ।

2 तर तिमीहरूका अपराधहरूले

तिमीहरूलाई आफ्ना परमेश्‍वरबाट अलग गरेका छन्;

तिमीहरूका पापहरूले गर्दा उहाँको अनुहार तिमीहरूबाट लुकाइएको छ,

त्यसैकारण उहाँले सुन्‍नुहुन्‍न।

3 किनकि तिमीहरूका हातहरू रगतले

र तिमीहरूका औँलाहरू दोषले अशुद्ध भएका छन्।

तिमीहरूका ओठहरूले झूट बोलेका छन्,

र तिमीहरूका जिब्राले दुष्‍ट कुराहरू बोल्दछन्।

4 कसैले पनि न्यायको माग गर्दैन;

कसैले पनि मुद्दा न्यायपूर्वक लड्दैन।

तिनीहरू व्यर्थका तर्कहरूमाथि भर पर्छन् र झूट बोल्छन्;

तिनीहरूले समस्या गर्भधारण गर्छन् र दुष्‍टता जन्माउँछन्।

5 तिनीहरू विषालु सर्पका अण्डा ओथ्राउँछन्,

र माकुराको जाल बुन्छन्।

तिनीहरूका अण्डा खाने जोसुकै पनि मर्छ,

र अण्डा फुटायो भने विषालु सर्पको बच्‍चा निस्कन्छ।

6 तिनीहरूका जालले कपडा बनाउन सकिँदैन;

तिनीहरूले बनाएका थोकले मानिसहरूले आफूलाई ढाक्न सक्दैनन्।

तिनीहरूका काम दुष्‍टतापूर्ण छन्,

र तिनीहरूका हातमा हिंसाका कामहरू छन्।

7 तिनीहरूका खुट्टा पाप गर्न दौडिन्छन्;

तिनीहरू निर्दोष रगत बगाउन हतारिन्छन्।

तिनीहरूका विचार दुष्‍ट विचार हुन्;

तिनीहरूका मार्ग बरबादी र विनाशले भरिएका छन्।

8 तिनीहरू शान्तिको मार्ग जान्दैनन्;

तिनीहरूका मार्गमा न्याय छैन।

तिनीहरूले आफ्ना मार्ग बाङ्गो बनाएका छन्;

त्यसमा हिँड्ने कसैले पनि शान्ति पाउनेछैन।

9 यसकारण न्याय हामीबाट टाढा छ,

र धार्मिकता हामीकहाँ आइपुग्दैन।

हामी ज्योतिको आशा गर्छौँ, तर अन्धकार छ;

हामी उज्यालोको बाटो हेर्छौँ, तर घोर अन्धकारमा हिँड्छौँ।

10 अन्धाले जस्तै हामी भित्ता छामछाम-छुमछुम गर्छौँ,

आँखा नभएको मानिसजस्तै हामी आफ्नो बाटो छामिहिँड्छौँ।

मध्यदिनमा पनि साँझमा जस्तै हामी ठक्‍कर खान्छौँ;

बलियाहरूको बीचमा हामी मरेका मानिसहरूजस्ता छौँ।

11 हामी भालुजस्तै कराउँछौँ;

हामी ढुकुरजस्तै विलाप गर्छौँ,

हामी न्याय खोज्छौँ, तर पाउँदैनौँ;

हामी छुटकारा खोज्छौँ, तर त्यो हामीदेखि टाढा छ।

12 किनकि हाम्रा अपराधहरू तपाईंको दृष्‍टिमा धेरै छन्,

र हाम्रा पापहरूले हाम्रै विरुद्धमा गवाही दिन्छन्।

हाम्रा अपराधहरू सधैँ हामीसँग छन्,

र हामी आफ्ना अपराधहरू स्वीकार गर्छौँ:

13 हामीले याहवेहको विरुद्ध विश्‍वासघात र विद्रोह गरेका छौँ;

हाम्रा पिठिउँ परमेश्‍वरतिर फर्काएका छौँ;

विद्रोह र अत्याचार गरेका छौँ,

र हाम्रा हृदयभित्र सोचेका झूटहरू मुखले उच्‍चारण गरेका छौँ।

14 यसरी न्यायलाई पछिल्तिर पन्छाएका छौँ,

र धार्मिकता टाढा भएको छ;

सत्यताले चाहिँ बाटोमा ठक्‍कर खाएको छ,

र इमानदारीताले प्रवेश गर्न सक्दैन।

15 सत्यता कहीँ पनि पाइँदैन,

र दुष्‍टतादेखि अलग बस्‍ने जोसुकै पनि शिकार हुन्छन्।

याहवेहले देख्नुभयो, र न्याय हुँदै नभएकोले

उहाँलाई दुःख लाग्यो।

16 उहाँले कोही पनि नभएको देख्नुभयो;

मध्यस्थ गर्ने कोही पनि नभएकोले उहाँले अचम्म मान्‍नुभयो;

यसैले उहाँकै बाहुलीले उद्धारको काम गर्नुभयो,

र उहाँकै धार्मिकताले सम्हाल्नुभयो।

17 उहाँले आफ्नो धार्मिकताको छाती-पाता

र आफ्नो शिरमाथि मुक्तिको टोप पहिरिनुभयो;

उहाँले बदलाको वस्त्र लगाउनुभयो

र जोशलाई पोशाकझैँ पहिरनुभयो।

18 तिनीहरूले गरेअनुसार

उहाँले बदला लिनुहुनेछ;

उहाँका शत्रुहरूमाथि क्रोध

र बैरीहरूलाई प्रतिशोध दिनुहुनेछ;

उहाँले टापुहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुनेछ।

19 पश्‍चिमबाट, विदेशीहरूले याहवेहको नामको डर मान्‍नेछन्,

र सूर्योदयदेखि नै तिनीहरूले उहाँको महिमा गर्नेछन्।

किनकि उहाँ याहवेहको सासले ठेल्दै ल्याएको

उर्लंदो भेलजस्तै आउनुहुनेछ।

20 "आफ्ना पापको पश्‍चात्ताप गरी फर्कने

याकोबका सन्तानहरूका निम्ति मुक्तिदाता सियोन पर्वतमा आउनुहुनेछ,"

याहवेह घोषणा गर्नुहुन्छ।

21 याहवेह भन्‍नुहुन्छ, "मेरो करार तिनीहरूसित चाहिँ यही नै हो। तँमाथि मेरो जुन आत्मा छ, त्यो तँबाट हट्नेछैन; अनि मैले तेरो मुखमा राखिदिएको मेरो वचन तेरो मुखबाट अथवा तेरा छोराछोरीहरूका मुखबाट, न त अब उसो तिनीहरूका सन्तानहरूका मुखबाट सदासर्वदाका निम्ति हट्नेछ," याहवेह भन्‍नुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-