Publicidade

Isaías 38

हिजकिया बिरामी परेका

1 ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे।आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, "याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्; किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।"

2 हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे, 3 "हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।" अनि हिजकिया धुरुधुरु रोए।

4 तब याहवेहको वचन यशैयाकहाँ आयो: 5 "जा, र हिजकियालाई भन्, ‘याहवेह तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु, र तेरो आँसु देखेको छु; म तेरो आयुमा अरू पन्ध्र वर्ष थपिदिनेछु। 6 अनि तँ र यस सहरलाई अश्शूरको राजाको हातबाट म छुटकारा दिनेछु, र यस सहरको रक्षा गर्नेछु।

7 " ‘याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, सो गर्नुहुनेछ भन्‍ने तेरा निम्ति याहवेहबाट यो चिन्ह हुनेछ: 8 म आहाजको सिँढीमा तल गएको घामले बनाएको छायालाई दश कदम पछि सारिदिनेछु।’ " यसकारण तल गएको घामको छाया दश कदम पछि सर्‍यो।

9 आफ्नो बिमार निको भएपछि यहूदाका राजा हिजकियाले लेखे:

10 मैले भनेँ, "मेरो जीवनको बीचमा

के म मृत्युको मूलढोकाबाट भएर जानुपर्छ,

र मेरा बाँकी वर्षहरू मबाट खोसिनेछ?"

11 मैले भनेँ, "म फेरि जीवितहरूको देशमा

याहवेहलाई देख्नेछैनँ,

अब उसो मानव-जातिलाई देख्नेछैनँ,

वा अहिले यस संसारमा रहनेहरूसित हुनेछु।

12 मेरो घर गोठालाको पालझैँ

उखेलिएर मबाट लगिएको छ।

तान बुन्‍नेले झैँ मैले आफ्नो जीवनलाई बेह्रेको छु,

र उहाँले मलाई तानबाट काटिदिनुभएको छ;

दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।

13 मैले बिहानसम्म धैर्यसाथ पर्खेँ,

तर सिंहले झैँ मेरा सबै हाडहरू उहाँले भाँचिदिनुभयो;

दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।

14 म गौँथली वा सारसझैँ चिरबिर कराएँ;

मैले विलाप गर्ने ढुकुरझैँ विलाप गरेँ।

स्वर्गतिर हेर्दा मेरा आँखा कमजोर भए।

म खतरामा छु; हे प्रभु, मेरा सहायताको निम्ति आउनुहोस्!"

15 तर म के भन्‍न सक्छु र?

उहाँ मसित बोल्नुभएको छ, र उहाँ आफैँले यो गर्नुभएको हो।

मेरो प्राणको चिन्ताको कारण

म आफ्नो जीवनभरि नम्र भई हिँड्नेछु।

16 हे प्रभु, यस्तै कुराहरूद्वारा मानिसहरू जिउँछन्;

र मेरो आत्माले पनि यिनमा जीवन पाउँछ।

तपाईंले मलाई फेरि स्वस्थ पारिदिनुभयो

र मलाई बचाउनुभयो।

17 निश्‍चय मेरै शान्तिको निम्ति

मैले यस्तो वेदना खप्नुपर्‍यो।

तपाईंले आफ्नो प्रेममा

मलाई सर्वनाशको खाडलबाट अलग राख्नुभयो;

किनकि तपाईंले मेरा सबै पापलाई

आफ्नो पिठिउँपछाडि फ्याँकिदिनुभयो।

18 किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन,

मृत्युले तपाईंको प्रशंसा गाउन सक्दैन;

खाडलमा पर्नेहरूले

तपाईंको विश्‍वासयोग्यताको आशा राख्न सक्दैनन्।

19 जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्,

जसरी आज म गरिरहेछु;

बुबाहरूले आफ्ना सन्तानलाई

तपाईंको विश्‍वासयोग्यताबारे बताउँछन्।

20 याहवेहले मलाई बचाउनुहुनेछ;

अनि हामी याहवेहको मन्दिरमा

आफ्ना जीवनकालभरि

तार-बाजाहरूसित गाउनेछौँ।

21 यशैयाले भनेका थिए, "नेभाराको लेप बनाएर पिलोमा लगाउनू र त्यो निको हुनेछ।"

22 हिजकियाले यसो भनी सोधेका थिए, "म याहवेहको मन्दिरमा जानेछु भन्‍ने के चिन्ह हुनेछ?"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-