Publicidade

Isaías 28

एफ्राइमलाई धिक्‍कार

1 एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुटलाई,

र त्यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्‍कार,

जो मलिलो उपत्यकाको सिरानमा राखिएको छ;

त्यो सहर, जसको घमण्डलाई दाखमद्यले होच्याइएको छ!

2 हेर, प्रभुको एक जना शक्तिशाली र बलवान् जन छन्।

तिनले असिना र नाश गर्ने हुरीजस्तै,

मुसलधार वर्षाको उर्लंदो पानीको बाढीजस्तै,

त्यसलाई जबरजस्ती भुइँमा फाल्नेछन्।

3 एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुट,

खुट्टामुनि कुल्चीमिल्ची पारिनेछ।

4 त्यो ओइलाउँदै गरेको फूल,

मलिलो बेँसीको शिरमाथि लगाएको त्यसको महिमा,

कटनीको अगि नै पाकेको नेभाराझैँ हुनेछ;

मानिसहरूले यसलाई देख्नेबित्तिकै हातमा लिन्छन्,

र तिनीहरूले यसलाई निलिहाल्छन्।

5 त्यस दिन सेनाहरूका याहवेह

एउटा महिमित मुकुट,

र आफ्ना बाँकी रहेका मानिसहरूका निम्ति

एउटा सुन्दर माला बन्‍नुहुनेछ।

6 न्याय गर्न बस्‍नेका निम्ति

उहाँ न्यायको आत्मा,

र लडाइँ मूलढोकातिर नै फर्काइदिनेहरूका निम्ति

उहाँ सामर्थका स्रोत हुनुहुनेछ।

7 तिनीहरू पनि मद्यले लरबरिन्छन्,

र मदिरा पिएर भड्किएका छन्:

पुजारी र अगमवक्ताहरू मताउने पेय पदार्थ पिएर धरमरिन्छन्,

र मद्यले उन्मत्त हुन्छन्;

तिनीहरू मद्यले धरमराएका छन्,

दर्शन देख्दा तिनीहरू धरमरिएका छन्;

तिनीहरू निर्णय दिँदा भड्किन्छन्।

8 सबै टेबुलहरू बान्ताले भरिएका छन्;

अनि फोहोर नभएको ठाउँ एउटै पनि छैन।

9 "त्यसले कसलाई सिकाउन चाहेको छ?

आफ्नो सन्देश कसलाई बयान गरिरहेको छ?

भर्खर दूध छोडेका बच्‍चाहरू,

भर्खर स्तनबाट अलग गरिएकाहरूलाई?

10 किनकि त्यो यस्तो हो:

यो गर, त्यो गर;

यसमाथि नियम, त्यसमाथि नियम,

अलिकति यहाँ, अलिकति त्यहाँ।"

11 त्यसो हो भने परमेश्‍वरले यस जातिसित

परदेशीका ओठ र अनौठो भाषाद्वारा बोल्नुहुनेछ;

12 जसलाई उहाँले भन्‍नुभयो,

"विश्रामस्थल यही हो; थाकेकाहरूले यहीँ नै विश्राम गरून्;"

अनि "थकाइ मार्ने स्थान यही हो,"

तर तिनीहरूले सुन्‍न इन्कार गरे।

13 यसकारण याहवेहको वचन तिनीहरूलाई यस्तो हुनेछ:

यो गर, त्यो गर,

यसमाथि नियम, त्यसमाथि नियम,

अलिकति यहाँ, अलिकति त्यहाँ,

यसरी तिनीहरू अगि बढ्दा पछिल्तिर लोटून्;

घाइते होऊन् र पासोमा परेर पक्राउ परून्।

14 यसकारण हे गिल्‍ला गर्नेहरू हो, याहवेहको वचन सुन,

जसले यी मानिसहरूमाथि यरूशलेममा शासन गर्छौ।

15 तिमीहरू घमण्ड गर्छौ, "हामीले मृत्युसित करार बाँधेका छौँ;

चिहानसित हामीले सम्झौता गरेका छौँ।

कुनै भयानक विपत्ति छेउमा आइपर्दा,

त्यसले हामीलाई छुन सक्दैन;

किनकि हामीले झूटलाई आफ्नो शरणस्थान

र असत्यलाई आफ्नो लुक्ने स्थान बनाएका छौँ।"

16 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

"हेर, मैले सियोनमा एउटा ढुङ्गा बसालेको छु, एउटा जाँचिएको ढुङ्गा,

एउटा दृढ जगको बहुमूल्य कुनेढुङ्गा,

त्यसमा भरोसा गर्ने

कहिल्यै निराश हुनेछैन।

17 म न्यायलाई नाप्‍ने डोरी,

र धार्मिकतालाई साहुल बनाउनेछु;

तिमीहरूको झूटको शरणस्थान असिनाले सोहोरेर लानेछ;

अनि पानीले तिमीहरूको लुक्ने ठाउँलाई बगाइदिनेछ।

18 मृत्युसितको तिमीहरूको करार नष्‍ट पारिनेछ;

चिहानसितको तिमीहरूको सम्झौता स्थिर रहनेछैन।

जब विपत्तिको बाढी यताबाट जानेछ,

त्यसले तिमीहरूलाई डुबाउनेछ।

19 जतिपल्ट त्यो आउँछ, त्यसले तिमीहरूलाई बगाएर लैजानेछ;

हरेक बिहान, दिन र रातमा

त्यो बगिरहनेछ।"

यस सन्देशको बुझाइले

आतङ्क मात्र ल्याउनेछ।

20 लम्पसार पर्नलाई पलङ साह्रै छोटो छ,

र तिमीहरूलाई ढाक्न कम्बल साह्रै सानो छ।

21 पराजीम पर्वतमा उठ्नुभएझैँ याहवेह उठ्नुहुनेछ,

गिबोनको बेँसीमा उहाँ जाग्नुभएझैँ जाग्नुहुनेछ—

आफ्नो काम, आफ्नो अनौठो काम गर्न र आफ्नो कार्य,

आफ्नो अद्‌भुत कार्य पूरा गर्न।

22 अब तिमीहरूको ठट्टा रोक,

नत्रता तिमीहरूका साङ्लाहरू अझ गह्रौँ हुनेछन्;

प्रभु, सेनाहरूका याहवेहले

मलाई सारा देशको विरुद्ध उर्दी जारी गर्नुभएको छ।

23 ध्यान दिएर सुन, र मेरो सोर सुन;

ध्यान देऊ, र म के भन्छु, सो सुन।

24 जब किसानले केही रोप्न जमिन जोत्छ, के उसले निरन्तर जोतिरहन्छ?

के त्यसले निरन्तर माटो खनेर डल्‍लाहरू फुटाउँदै रहन्छ?

25 उसले माटो सम्म पारेपछि

के उसले सुँप र जीरा छर्दैन र?

के उसले त्यसकै ठाउँमा गहुँ,

जौ त्यसकै ठाउँमा

र कठियालाई त्यसकै ठाउँमा छर्दैन र?

26 उसका परमेश्‍वरले उसलाई अह्राउनुहुन्छ;

अनि उसलाई ठिक तरिका सिकाउनुहुन्छ।

27 किनकि कुनै तीखो हतियारले सुँप झाँटिदैन,

न त जीरालाई गाडाको चक्‍काले दाइँ गरिन्छ;

तर लहुरोले सुँप चुटिन्छ,

र जीराचाहिँ लठ्ठीले चुटिन्छ।

28 रोटी बनाउने अन्‍न पिसिनुपर्छ;

यसकारण कसैले त्यसलाई सधैँ झाँटिरहँदैन।

न त उसले त्यसमाथि गाडाको चक्‍का गुडाएर

उसका घोडाहरूले त्यसलाई पिँध्छ।

29 यी सबै सेनाहरूका याहवेहबाट नै आउँदछ,

जसको योजना अचम्मका

र बुद्धि महान् छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-