Publicidade

Isaías 27

इस्राएलको छुटकारा

1 त्यस दिन

याहवेहले आफ्नो कठोर,

उहाँको डरलाग्दो, महान् र शक्तिशाली तरवारले

त्यस घस्रेर हिँड्ने सर्प लिव्यातनलाई

दण्ड दिनुहुनेछ;

त्यो समुद्रमा गुँडुलेर बस्‍ने लिव्यातनलाई मार्नुहुनेछ।

2 त्यस दिन,

"फलवन्त दाखबारीको विषयमा गीत गाओ:

3 म, याहवेहले त्यसको हेरचाह गर्छु;

म त्यसमा निरन्तर पानी हाल्छु।

त्यसलाई कसैले हानि नगरोस् भनेर

म त्यसलाई दिनरात पहरा दिन्छु।

4 म रिसाएको छैनँ।

यदि त्यहाँ सिउँडी र काँडाहरू मलाई रोक्न उम्रेका भए त!

म तिनीहरूका विरुद्ध लडाइँ गर्न जाइलाग्नेथिएँ;

म तिनीहरूलाई जलाउनेथिएँ।

5 त्यसैले तिनीहरू शरणका निम्ति मकहाँ आऊन्;

तिनीहरूले मसित मिलाप गरून्,

हो, तिनीहरूले मसित मिलाप गरून्।"

6 आउँदा दिनहरूमा याकोबले जरा हाल्नेछ,

इस्राएल पलाउनेछ, र त्यो फुल्नेछ;

अनि सारा संसार त्यसको फलद्वारा भरिइनेछन्।

7 के त्यसलाई हिर्काउनेहरूलाई याहवेहले हिर्काउनुभएझैँ,

उहाँले त्यसलाई हिर्काउनुभएको छ?

के त्यसलाई मार्नेहरू मारिएझैँ,

त्यो मारिएको छ?

8 युद्ध र निर्वासनद्वारा तपाईं त्यससित युद्ध गर्नुहुन्छ,

पूर्वीय बतास चलेको दिनझैँ,

आफ्नो प्रचण्ड सासद्वारा उहाँले तिनीहरूलाई हटाइदिनुहुन्छ।

9 तब यसद्वारा याकोबको अपराधको प्रायश्‍चित हुनेछ;

अनि यसरी त्यसको पाप हटाएको सम्पूर्ण परिणाम यही हुनेछ:

जब उहाँले वेदीका ढुङ्गाहरूलाई

खरी ढुङ्गाझैँ धुलोपिठो पार्नुहुन्छ;

त्यहाँ कुनै अशेरा देवीको खम्बा

अथवा धूपको वेदी खडा हुनेछैन।

10 सुरक्षित सहर निर्जन भयो,

निर्जन र त्यागिएका वासस्थान उजाड भूमिझैँ भयो;

त्यहाँ बाछाहरू चर्छन्,

त्यहाँ तिनीहरू विश्राम गर्छन्;

तिनीहरूले त्यसका हाँगाहरू लुछेर नाङ्गा पारिदिन्छन्।

11 त्यसका हाँगाहरू सुक्छन् र ती भाँचिन्छन्;

अनि स्त्रीहरूले आएर ती आगो सल्काउने काममा प्रयोग गर्छन्।

किनकि यो एउटा निर्बुद्धि जाति हो;

यसकारण तिनीहरूलाई बनाउनुहुनेको केही दया तिनीहरूप्रति छैन;

तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूमाथि निगाह राख्नुहुन्‍न।

12 त्यस दिन याहवेहले बग्दै गरेको यूफ्रेटिसदेखि इजिप्टको नदीसम्म झाँट्नुहुनेछ; अनि हे इस्राएलीहरू हो, तिमीहरू एक-एक गरी भेला गरिनेछौ। 13 त्यस दिन ठूलो तुरही बज्नेछ। अश्शूरमा नष्‍ट हुनेहरू र इजिप्टमा निर्वासित भएकाहरू आएर यरूशलेममा पवित्र पर्वतमाथि याहवेहलाई आराधना गर्नेछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-