Publicidade

Isaías 44

चुनिएको इस्राएल

1 "तर अब हे मेरो सेवक याकोब,

मैले चुनेको इस्राएल, ध्यानसित सुन्।

2 तँलाई बनाउनुहुने, तँलाई गर्भमा रच्नुहुने,

तँलाई सहायता गर्नुहुने

याहवेह यसो भन्‍नुहुन्छ—

हे याकोब, मेरो सेवक,

मैले चुनेको यशूरून्, तँ नडरा!

3 किनकि म तिर्खाएको जमिनमा पानी खन्याउनेछु,

र सुक्खा भूमिमा खोलाहरू बहाउनेछु;

म मेरो आत्मा तेरा सन्तानहरूमाथि खन्याउनेछु;

अनि मेरा आशिष्‌हरू तेरा वंशमाथि खन्याउनेछु।

4 तिनीहरू मैदानमा घाँस उम्रेझैँ उम्रनेछन्,

बग्ने खोलाको किनारका लहरे पीपलझैँ हुनेछन्।

5 कसैले भन्‍नेछ, ‘म याहवेहको हुँ।’

अर्कोले आफूलाई याकोबको नामद्वारा बोलाउनेछ;

अझ अर्कोले आफ्नो हातमा, ‘म याहवेहको हुँ’ भनेर लेख्नेछ,

र आफ्नो नाम इस्राएल राख्नेछ।

मूर्तिहरू होइनन्, तर याहवेह

6 "इस्राएलका महाराजा र उद्धारक,

सेनाहरूका याहवेह भन्‍नुहुन्छ:

पहिलो र पछिल्‍लो म नै हुँ;

मबाहेक अरू कुनै परमेश्‍वर छैन।

7 मजस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्।

मैले मेरा प्राचीन जातिलाई स्थापित गरेपछि

के भयो? त्यसले घोषणा गरोस् र मेरो सामु राखिदेओस्;

अनि अब के हुनेछ—

हो, त्यसले अब के हुनेछ, सो पहिलेबाटै भनोस्।

8 थरथर नकाँप र नडराओ।

के मैले तिमीहरूलाई धेरै अगि नै यो घोषणा गरेको र बताएको होइन र?

तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्‍वर छ र?

होइन, अरू चट्टान छैन; म कसैलाई पनि चिन्दिनँ।"

9 मूर्ति बनाउनेहरू सबै केही पनि होइनन्,

र तिनीहरूले मूल्यवान् ठानेका कुराहरू बेकामका हुन्।

तिनीहरूका पक्षमा बोल्नेहरू अन्धा छन्;

आफ्नै बदनामीको निम्ति तिनीहरू अज्ञात छन्।

10 आफूलाई केही फाइदा नहुने देवतालाई,

कसले आकार दिएर ढलौटे मूर्ति बनाउँछ?

11 त्यस्तो काम गर्ने सबै लाजमा पर्नेछन्;

यस्ता कारिगरहरू मानिसबाहेक केही होइनन्।

तिनीहरू सबै आएर आफ्ना अडान लिऊन्;

तिनीहरू सबै त्रसित र लज्जित हुनेछन्।

12 लोहारले एउटा हतियार लिन्छ,

र त्यो लिएर उसले कोइलामा काम गर्छ;

घनले मूर्तिको आकार निकाल्छ,

र आफ्नो हातको शक्तिले त्यसलाई बनाउँछ।

उसलाई भोक लाग्छ र त्यसको बल हराउँछ;

पानी नपिएकोले ऊ कमजोर हुन्छ।

13 सिकर्मीले सूत तानेर

सिसाकलमले चिन्ह लगाउँछ।

उसले रामोले चिल्‍लो पारेर

त्यसको आकार निकाल्छ,

र परकालले त्यसमा चिन्ह लगाएर

घरमा राख्नलाई मानिसको सबै सुन्दरताको रूपमा

त्यसको आकार निकाल्छ।

14 उसले देवदारुहरू काट्छ,

अथवा सिसौ र फलाँटको रूखहरू चुन्छ;

उसले त्यसलाई वनका रूखहरूसित बढ्न दिन्छ,

अथवा सालको रूख रोप्छ र वर्षाले त्यसलाई बढाउँछ।

15 त्यो यस मानिसका निम्ति बाल्नलाई दाउरा हुन्छ;

त्यसबाट केही लिएर उसले आफूलाई न्यानो पार्छ;

उसले आगो सल्काएर रोटी पकाउँछ।

तर उसले काठबाट देवता पनि बनाएर त्यसलाई पुज्छ;

उसले मूर्ति बनाएर त्यसको सामु निहुरिन्छ।

16 आधा काठ उसले आगोमा जलाउँछ;

त्यसमा उसले आफ्नो भोजन पकाउँछ,

त्यसैबाट उसले मासु पोल्छ र अघाउन्जेल खान्छ।

उसले आफूलाई न्यानो पारेर भन्छ,

"अहो! म न्यानो भएँ, मैले आगो देख्न पाएँ।"

17 बाँकी भागबाट उसले एउटा देवता बनाउँछ, त्यसको मूर्ति बनाउँछ;

ऊ त्यसको सामु घोप्टो परेर त्यसलाई पुज्छ।

उसले त्यसलाई प्रार्थनामा भन्छ,

"मलाई बचाउनुहोस्, तपाईं मेरा ईश्‍वर हुनुहुन्छ।"

18 तिनीहरू केही जान्दैनन्, न त तिनीहरूले केही बुझ्छन्;

तिनीहरूका आँखामा पट्टी बाँधिएको छ र तिनीहरू देख्न सक्दैनन्;

अनि तिनीहरूका मन बन्द भएका छन् र तिनीहरू बुझ्न सक्दैनन्।

19 कसैले पनि विचार गर्दैन,

"यसको आधा भाग मैले दाउराको रूपमा जलाएँ;

यसको कोइलामा मैले रोटी पनि पोलेँ,

र मैले मासु पोलेर खाएँ।

त्यसको बाँकी भागबाट के म एउटा घृणित कुरा बनाऊँ?

के म काठको टुक्राको सामु घोप्टो परूँ?"

भन्‍ने ज्ञान र समझशक्ति कसैसित छैन।

20 उसले खरानी खान्छ, एउटा ठगिएको हृदयले त्यसलाई पथभ्रष्‍ट पार्छ;

उसले आफूलाई बचाउन सक्दैन, अथवा

"के मेरो दाहिने हातमा भएको यो कुरो झूट होइनँ?" भन्‍न सक्दैन।

21 "हे याकोब, यी कुराहरू सम्झना गर्;

किनकि हे इस्राएल, तँ मेरो सेवक होस्।

मैले तँलाई बनाएँ, तँ मेरो सेवक होस्;

हे इस्राएल, म तँलाई बिर्सनेछैनँ।

22 मैले तेरा अपराधहरूलाई बादलझैँ,

र तेरा पापहरूलाई बिहानको तुवाँलोझैँ हटाइदिएँ।

मकहाँ फर्की;

किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु।"

23 हे आकाश आनन्दले गा; किनकि याहवेहले यसो गर्नुभएको छ;

हे पृथ्वीको गहिराइ, चर्को सोरले करा।

हे पर्वतहरू हो, उच्‍च सोरले गा!

हे जङ्गल र रूखहरू हो, आनन्दले गा;

किनकि याहवेहले याकोबलाई मोल तिरेर छुटाउनुभएको छ,

र उहाँले आफ्नो महिमा इस्राएलमा देखाउनुहुन्छ।

यरूशलेम पुनर्स्थापित गरिएको

24 "तेरा उद्धारकर्ता, तँलाई गर्भमा रच्नुहुने

याहवेह यसो भन्‍नुहुन्छ:

म नै तेरा याहवेह हुँ,

जसले सबै कुराहरू बनाउनुभएको छ;

जसले आकाशलाई फैलाउनुभयो,

र पृथ्वीलाई फिँजाउनुभयो;

25 जसले झूटा अगमवक्ताका अलौकिक चिन्हहरू विफल पारिदिनुहुन्छ

र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउनुहुन्छ;

जसले बुद्धिमान्‌हरूका विद्यालाई उल्टो पारिदिनुहुन्छ

र त्यसलाई मूर्ख बनाइदिनुहुन्छ;

26 "जसले उहाँका सेवकहरूका वचनहरू पक्‍का गर्नुहुन्छ,

र आफ्ना सन्देशवाहकहरूका भविष्यवाणीहरू पूरा गरिदिनुहुन्छ।

जसले यरूशलेमलाई, ‘यो बसोबास हुनेछ,’

र यहूदाका नगरहरूलाई, ‘ती बनाइनेछन्,’

र भग्नावशेषको विषयमा, ‘म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु’ भन्‍नुहुन्छ।

27 जसले गहिरा पानीलाई भन्‍नुहुन्छ, ‘सुकिजा!

म तेरा खोलाहरूलाई सुकाउनेछु’,

28 जसले कोरेसलाई भन्‍नुहुन्छ, ‘त्यो मेरो गोठालो हो

र मेरा सबै इच्छा त्यसले पूरा गर्नेछ।

उहाँले यरूशलेमलाई भन्‍नुहुन्छ, "त्यो पुनर्निर्माण गराइओस्,"

र मन्दिरलाई "यसको जग बसालिओस्।" ’

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-