Publicidade

Isaías 46

बेबिलोनका देवताहरू

1 बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ;

तिनीहरूका मूर्तिहरू भारी बोक्ने पशुहरूले बोकेका छन्।

तिनीहरूले लिएर हिँडेका मूर्तिहरू

थाकेकाहरूका निम्ति गह्रौँ भारजस्तै छन्।

2 त्यस भारबाट मुक्त हुन नसकेर

तिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्;

तिनीहरू आफैँ कैदमा गइहाल्छन्।

3 "हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्,

इस्राएलका घरानाका बाँचेकाहरू सबै,

जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु,

र जन्मेको घडीदेखि नै मैले बोकेको छु।

4 तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ;

म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ।

मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु;

म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु।

5 "तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ?

मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ?

6 कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन्

र तराजुमा चाँदी जोख्छन्;

तिनीहरूले त्यसबाट देवता बनाउनको लागि सुनारलाई ज्यालामा लिन्छन्,

र घोप्टेर त्यसलाई पुज्छन्।

7 त्यसलाई काँधमा उठाएर बोक्छन्;

अनि त्यसलाई त्यसको ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ।

त्यस ठाउँबाट त्यो यताउता चल्न सक्दैन।

कसैले त्यसलाई पुकार गर्‍यो भने तापनि त्यसले जवाफ दिन सक्दैन;

त्यसले तिनीहरूलाई विपत्तिबाट बचाउन सक्दैन।

8 "हे बागीहरू हो, यो याद राख,

मनमा छाप लगाओ, यसलाई हृदयभित्र राख।

9 ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ;

किनकि म परमेश्‍वर हुँ, अरू कोही पनि छैन;

म परमेश्‍वर हुँ, मजस्तो अरू कोही पनि छैन।

10 म अन्तिमका कुराहरू पहिल्यैदेखि नै;

र प्राचीन समयदेखि नै, हुन आउने घटनाहरूको बारेमा भन्छु।

म भन्छु, ‘मेरो उद्देश्य अटल रहन्छ,

र म आफ्नो इच्छाअनुसार सबै कुरा गर्नेछु।’

11 पूर्वबाट म शिकारी पक्षीलाई बोलाउँछु;

मेरो उद्देश्य पूरा गर्नलाई टाढा देशबाट मानिसलाई बोलाउँछु।

मैले जे भनेको छु, त्यो म गर्नेछु;

मैले जे योजना गरेको छु, त्यो म गर्नेछु।

12 हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन;

तिमीहरू, जो धार्मिकताबाट टाढा छौ।

13 म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु;

यो टाढा छैन,

र मेरो उद्धार ढिलो हुनेछैन।

मेरो उद्धार सियोनलाई दिनेछु,

मेरो गौरव इस्राएललाई दिनेछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-