Publicidade

Isaías 58

साँचो उपवास

1 "उच्‍च सोरले करा, चुप लागेर नबस्।

तुरहीको जस्तै तेरो सोर उचाल्।

मेरो प्रजालाई तिनीहरूका विद्रोह

र याकोबका घरानालाई तिनीहरूका पाप घोषणा गरिदे।

2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्;

तिनीहरू जे ठिक छ, त्यही गर्ने

र आफ्ना परमेश्‍वरको आज्ञा नत्याग्ने,

तर मेरा मार्ग जान्‍न इच्छा गर्ने जातिजस्तै देखिन्छन्।

तिनीहरू मसँग उचित निर्णयहरू सोध्छन्,

र परमेश्‍वर तिनीहरूका नजिक आऊन् भनी इच्छा राख्छन्।

3 तिनीहरू भन्छन्, ‘हामीहरूले उपवास बस्यौँ,

तपाईंले किन त्यो देख्नुहुन्‍न?

हामीले आफूलाई नम्र तुल्यायौँ,

तपाईंले किन ध्यान दिनुहुन्‍न?’

"तर तिमीहरू उपवास बस्दा आफूखुशी गर्छौ,

र तिमीहरूका सबै कामदारहरूलाई शोषण गर्छौ।

4 तिमीहरूका उपवास वाद-विवाद,

झगडा र हात हालाहालमा टुङ्गिन्छ।

यस प्रकारको उपवास बस्दा

तिमीहरूको प्रार्थना ग्रहणयोग्य हुँदैन।

5 के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने

किसिमको उपवास मैले चाहेको हो र?

के यो आफ्नो शिर निगालोझैँ निहुराएर

भाङ्ग्रा र खरानीमा बस्‍ने मात्र हो?

के यसैलाई तिमीहरू उपवास भन्छौ,

के यस्तो उपवास याहवेहले ग्रहण गर्नुहुन्छ?

6 "मैले चाहेको उपवास:

अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु,

शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु

र प्रत्येक जुवा भाँचिदिनु होइन र?

7 के तिमीहरूका भोजन भोकाएकाहरूसित बाँड्नु,

घरबार नभएका गरिबलाई आश्रय दिनु,

नाङ्गोलाई देख्दा त्यसलाई ढाकिदिनु,

र आफ्ना खाँचोमा परेका

नातेदारहरूसँग नलुक्नु नै उपवास होइन र?

8 जब तिमीहरू यी सबै गर्न थाल्छौ,

तब तिमीहरूको ज्योति सूर्योदयझैँ चम्कनेछ,

तिमीहरू चाँडै निको हुनेछौ;

धार्मिकता तिमीहरूको अगि-अगि जानेछ,

र याहवेहको महिमा तिमीहरूको पछिल्तिर रक्षक हुनेछ।

9 जब तिमीहरूले पुकार्नेछौ, र याहवेहले जवाफ दिनुहुनेछ;

तिमीहरू सहायताको निम्ति गुहार्नेछौ, तब उहाँले, ‘म यहाँ छु’ भन्‍नुहुनेछ।

"यदि तिमीहरूले अत्याचारको जुवा भाँचिदियौ,

एक-अर्कालाई दोष लगाउने काम र दुष्‍ट कुरा त्यागिदियौ भने,

10 यदि तिमीहरू भोकाहरूका पक्षमा खडा भयौ,

र शोषणमा परेकाहरूका खाँचो पूरा गरिदियौ भने,

तिमीहरूका ज्योति अन्धकारमा चम्कनेछ;

अनि अन्धकारचाहिँ मध्यदिनझैँ हुनेछ।

11 याहवेहले तिमीहरूलाई सधैँ अगुवाइ गर्नुहुनेछ;

उहाँले सुक्खा भूमिमा पनि तिमीहरूलाई तृप्‍त पार्नुहुनेछ;

अनि तिमीहरूको शरीर बलिया पार्नुहुनेछ।

तिमीहरू प्रशस्त पानी सिँचेको बगैँचाझैँ,

र कहिल्यै नसुक्ने पानीको मूलझैँ हुनेछौ।

12 तिमीहरूका मानिसहरूले प्राचीन भग्नावशेषहरू पुनर्निर्माण गर्नेछन्;

अनि पुस्तौँदेखिका जगहरू खडा गर्नेछन्;

तिमीहरू भत्किएका पर्खाल मर्मत गर्नेहरू,

सडकहरूमा बसोबास गर्नलाई सडकहरू बनाउनेहरू भनिनेछौ।

13 "यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ दिन उल्‍लङ्घन गर्नबाट,

र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने,

तिमीहरूले शबाथ दिनलाई प्रसन्‍नता,

र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ,

र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी,

अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्‍यौ भने,

14 तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ,

र म तिमीहरूलाई देशका उचाइहरूमा सवार हुन लाउनेछु;

तिमीहरूका पुर्खा याकोबको पैतृक सम्पत्ति उपभोग गर्न दिनेछु।"

म याहवेहको मुखले बोलेको हुँ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-