Publicidade

Isaías 54

सियोनको भावी महिमा

1 "हे बाँझी स्त्री, गीत गा!

तँ, जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्;

आनन्दसाथ र चर्को सोरमा करा;

तँ, जो प्रसव-वेदनामा कहिल्यै परेकी छैनस्;

किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ

पति भएकी स्त्रीको भन्दा धेरै छन्,"

याहवेह भन्‍नुहुन्छ।

2 "तेरो पालको ठाउँ बढा,

आफ्नो पालको पर्दाहरू तन्का,

बाँकी नराख्;

तेरा डोरीहरू लामो पार्,

तेरा किलाहरू बलियो पार्।

3 किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्;

तेरा सन्तानहरूले राष्ट्रहरूलाई अधिकार गर्नेछन्;

अनि तिनीहरूका त्यागिएका सहरहरूमा बसोबास गर्नेछन्।

4 "नडरा, तँ शर्ममा पर्नेछैनस्।

अपमानसित नडरा, तँ होच्याइनेछैनस्।

तैँले आफ्नो जवानीको शर्म भुल्नेछस्;

अनि तेरो विधवापनको निन्दा फेरि सम्झनेछैनस्।

5 किनकि तेरो सृष्‍टिकर्ता तेरो पति हुनुहुन्छ;

उहाँको नाम सेनाहरूका याहवेह हो;

इस्राएलका पवित्र परमेश्‍वर तेरा उद्धारकर्ता हुनुहुन्छ;

उहाँ सारा पृथ्वीका परमेश्‍वर कहलाइनुहुन्छ।

6 तेरा परमेश्‍वर भन्‍नुहुन्छ,

त्यागिएकी र आत्मामा दुःखित स्त्रीलाई झैँ

र जवानीमा विवाह भएर त्यागिएकी पत्नीलाई झैँ

याहवेहले तँलाई फेरि बोलाउनुहुनेछ।

7 केही समयको लागि मैले तँलाई त्यागेको थिएँ,

तर ठूलो कृपासाथ म तँलाई फेरि फर्काइल्याउनेछु।

8 रिसको झोँकमा मैले आफ्नो अनुहार

केही समयको निम्ति तँदेखि लुकाएँ;

तर अनन्तको करूणासहित

म तँमाथि कृपा देखाउनेछु"

याहवेह तेरा उद्धारकर्ता भन्‍नुहुन्छ।

9 "यो मेरो निम्ति नोआको समयजस्तै हो;

किनभने नोआका समयमा पानीजस्तै फेरि

पृथ्वीमा जलप्रलय कहिल्यै हुनेछैन भनी मैले शपथ खाएको छु।

यसकारण तँसित कहिल्यै रिसाउनेछैनँ;

तँलाई फेरि हप्काउनेछैनँ भनी मैले अहिले शपथ खाएको छु।

10 पहाडहरू हल्‍लाइए

र डाँडाहरू हटाइए तापनि

तँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन,

न त शान्तिको मेरो करार हटाइनेछ"

तँलाई कृपा गर्नुहुने याहवेह भन्‍नुहुन्छ।

11 "हे दुःखमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर,

म तँलाई बहुमूल्य पत्थरहरूले निर्माण गर्नेछु;

तेरा जगहरू नीलमणिले निर्माण गर्नेछु।

12 म तेरा सुरक्षा पर्खालहरू लालमणिले,

तेरा मूलढोकाहरू जगमगाउने रत्नहरूले,

र तेरा पर्खालहरू बहुमूल्य पत्थरहरूले बनाउनेछु।

13 तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्;

अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।

14 तँ धार्मिकतामा स्थापित गरिनेछस्:

अत्याचार तँबाट टाढा रहनेछ;

तँ कुनै कुरामा डराउनुपर्नेछैन।

आतङ्क टाढा हटाइनेछ,

र त्यो तेरो छेउ पर्नेछैन।

15 यदि कसैले तँमाथि आक्रमण गर्‍यो भने त्यो मेरो काम हुनेछैन;

तँलाई जसले आक्रमण गरे तापनि त्यसले तेरो सामु आत्मसमर्पण गर्नेछ।

16 "हेर्, लोहारलाई सृष्‍टि गर्ने म नै हुँ,

जसले कोइला फुकेर ज्वाला बनाउँछ,

र काम गर्ने ठिक हतियार बनाउँछ।

उत्पात गरेर नष्‍ट पार्नेलाई मैले नै सृष्‍टि गरेको हुँ;

17 तेरो विरुद्धमा बनाइएको हतियार पनि काम लाग्नेछैन;

अनि तँलाई दोष लगाउने हरेक जिब्रोलाई तैँले चुप लगाउनेछस्।

याहवेहका सेवकहरूका पैतृक सम्पत्ति यही हो,

र तिनीहरूप्रति मेरो धार्मिकताको प्रमाण यही हो"

याहवेह घोषणा गर्नुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-