Publicidade

Isaías 49

याहवेहको सेवक

1 हे टापुहरू हो, मेरो कुरा सुन;

हे टाढाका जातिहरू हो, यो सुन;

म जन्मनुभन्दा अगि याहवेहले मलाई बोलाउनुभयो;

म आमाको गर्भमा हुँदादेखि नै

उहाँले मलाई नाम दिनुभयो।

2 उहाँले मेरो मुख उध्याएको तरवारझैँ बनाउनुभयो;

उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभयो;

उहाँले मलाई टल्काइएको तीरझैँ बनाउनुभयो,

र मलाई उहाँको ठोक्रोमा लुकाउनुभयो।

3 उहाँले मलाई भन्‍नुभयो, "तँ मेरो सेवक इस्राएल होस्,

जसमा म आफ्नो महिमा प्रकट गर्छु।"

4 तर मैले भनेँ, "मैले व्यर्थैमा परिश्रम गरेछु;

मैले आफ्नो बल सबै व्यर्थमा खर्च गरेछु।

तर पनि मैले पाउनुपर्ने जे छ, त्यो याहवेहकै हातमा छ;

अनि मेरो पुरस्कार मेरा परमेश्‍वरसित छ।"

5 यसैले अब याहवेह भन्‍नुहुन्छ—

उहाँ जसले याकोबलाई उहाँकहाँ फर्काएर ल्याउन,

र इस्राएललाई आफूकहाँ भेला गराउन,

मलाई उहाँको सेवक हुन भनी गर्भैमा रच्नुभयो;

किनकि म याहवेहको दृष्‍टिमा सम्मानित भएको छु,

र मेरा परमेश्‍वर नै मेरो बल हुनुभएको छ।

6 उहाँ भन्‍नुहुन्छ:

"याकोबका कुलहरूलाई पुनर्स्थापित गर्न

र मैले जोगाइराखेको इस्राएललाई फर्काएर ल्याउनको निम्ति

तँ मेरो सेवक हुने कुरा तेरो निम्ति अति सानो कुरा हो।

मेरो उद्धार पृथ्वीको छेउसम्म फैलियोस् भनेर

म तँलाई गैरयहूदीहरूका निम्ति एउटा ज्योति पनि बनाउनेछु।"

7 जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे—

उद्धारकर्ता र इस्राएलका पवित्र परमेश्‍वर—

त्यो शासकहरूका सेवकलाई,

याहवेह पवित्र परमेश्‍वर भन्‍नुहुन्छ:

"राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्;

अनि राजकुमारहरूले देख्नेछन् र तेरो अगि घोप्टो पर्नेछन्;

किनभने विश्‍वासयोग्य याहवेह,

इस्राएलका पवित्र परमेश्‍वरले तँलाई चुन्‍नुभएको छ।"

इस्राएलको पुनर्स्थापन

8 याहवेह यसो भन्‍नुहुन्छ:

"मेरो निगाहको समयमा म तँलाई जवाफ दिनेछु,

र उद्धारको दिन म तँलाई सहायता गर्नेछु;

म तँलाई सम्हाल्नेछु र तँलाई बनाउनेछु;

मानिसहरूका निम्ति एउटा करार बनाउन,

देशलाई पुनर्स्थापन गर्न,

र त्यसका उजाड उत्तराधिकारहरू फेरि दिलाउन,

9 कैदीहरूलाई ‘बाहिर आओ’

र अन्धकारमा भएकाहरूलाई ‘स्वतन्त्र होओ’ भन्‍न।

"तिनीहरू बाटोका किनारमा खानेछन्

र प्रत्येक बाँझो डाँडामा खर्क भेट्टाउनेछन्।

10 तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्,

न त मरुभूमिको गर्मी र घामले तिनीहरूलाई पोल्नेछ।

तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ,

र तिनीहरूलाई पानीका खोलाहरूका छेउमा डोर्‍याउनुहुनेछ।

11 म आफ्ना पर्वतहरूलाई बाटोमा परिणत गर्नेछु,

र मेरा राजमार्गहरू उच्‍च पारिनेछन्।

12 हेर, तिनीहरू धेरै टाढाबाट आउनेछन्—

कोही उत्तरबाट, कोही पश्‍चिमबाट,

र कोही सीनीम देशबाट आउनेछन्।"

13 हे आकाश, आनन्दले करा;

हे पृथ्वी, हर्ष मना;

हे पर्वतहरू हो, चर्को सोरले गा!

किनकि याहवेहले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ;

अनि कष्‍ट पाएका आफ्नाहरूलाई दया देखाउनुहुन्छ।

14 तर सियोनले भन्यो, "याहवेहले मलाई त्याग्नुभएको छ,

प्रभुले मलाई भुल्नुभएको छ।"

15 "के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे,

र आफूले जन्माएको बालकमाथि दया नदेखाउली र?

त्यसले भुल्न पनि सक्छे,

तर म तँलाई कहिल्यै पनि भुल्नेछैनँ!

16 हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु;

तेरा पर्खालहरू सधैँ मेरो सामु छन्।

17 तेरा छोराहरू चाँडो गरी फर्कँदैछन्,

र तँलाई उजाड पार्नेहरू तँबाट गइहाल्छन्।

18 तेरा आँखाहरू उचालेर चारैतिर हेर्;

तेरा सबै छोराहरू भेला भएर तँकहाँ आउँछन्।

म जीवित भएझैँ," याहवेह घोषणा गर्नुहुन्छ,

"तँ गहनाले सिङ्गारिएझैँ यी सबैले सिङ्गारिनेछस्;

अनि दुलहीले झैँ तैँले यी सबै लगाउनेछस्।

19 "यद्यपि तँ नष्‍ट र उजाड पारिएको थिइस्

र तेरो देश रुखो पारिएको थियो;

अब तँ आफ्ना मानिसहरूका निम्ति अति सानो हुनेछस्,

र तँलाई निलिहाल्नेहरू टाढै हुनेछन्।

20 तेरो शोकको समयमा जन्मेका बालबच्‍चाहरूले

तैँले सुन्‍ने गरी

‘यो ठाउँ हामीलाई साह्रै सानो भयो;

हामीलाई अझ धेरै बस्‍ने ठाउँ देओ’ भन्‍नेछन्।

21 तब तैँले आफ्ना हृदयमा भन्‍नेछस्,

‘कसले मेरा निम्ति यिनीहरूलाई जन्माए?

म त शोकित र बाँझी थिएँ;

म देशबाट निकालिएकी र त्यागिएकी थिएँ।

यिनीहरूलाई कसले हुर्काए?

म एकलै छोडिएकी थिएँ,

तर यिनीहरू कहाँबाट आए?’ "

22 प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

"हेर, म गैरयहूदीहरूतिर इशारा गर्छु;

म जातिहरूतिर आफ्नो झण्डा उचाल्नेछु;

तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा ल्याउनेछन्,

र तेरा छोरीहरूलाई आफ्ना काँधमा बोक्नेछन्।

23 राजाहरू तेरा स्याहार गर्ने बुबा

र रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्।

तिनीहरू तेरा सामु आफ्ना अनुहार भुइँतिर निहुर्‍याएर दण्डवत् गर्नेछन्;

तिनीहरूले तेरा खुट्टाको धुलो चाट्नेछन्।

तब तैँले म नै याहवेह हुँ, भनी जान्‍नेछस्;

ममाथि आशा राख्नेहरू निराश हुनेछैनन्।"

24 के योद्धाहरूबाट लुटको माल खोसिन सकिन्छ,

अथवा निर्दयीको हातबाट कैदीहरू खोसिन सकिन्छ?

25 तर याहवेह यसो भन्‍नुहुन्छ:

"हो, योद्धाहरूबाट कैदीहरू खोसिनेछन्,

र लुटको माल निर्दयीहरूबाट फिर्ता लिइनेछ;

तँसित झगडा गर्नेहरूसित म झगडा गर्नेछु;

अनि तेरा बालबच्‍चाहरूलाई म बचाउनेछु।

26 तेरा अत्याचारीहरूलाई म तिनीहरूका आफ्नै मासु खान लाउनेछु;

मद्यले मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्नेछन्।

तब सबै मानव जातिले जान्‍नेछन्, कि

म याहवेह नै तेरा उद्धारकर्ता तँलाई मोल तिरेर छुटाउने,

याकोबको सर्वशक्तिमान् परमेश्‍वर हुँ।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-