येशूले शब्बाथमा निको पार्नुभएको
1 अर्को पटक उहाँ सभाघरमा जानुभयो। त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। 2 तिनीहरूमध्ये कोही मानिसले येशूलाई दोष लगाउन निहुँ खोजिरहेका थिए। त्यसैले तिनीहरू उहाँले शब्बाथ दिनमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए। 3 येशूले हात सुकेको त्यस मानिसलाई भन्नुभयो, "सबैको सामु खडा होऊ।"
4 तब येशूले तिनीहरूलाई सोध्नुभयो, "शब्बाथ दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि मार्नु?" तर तिनीहरू मौन रहे।
5 तिनीहरूका कठोर हृदय देखेर अति दुःखित भई उहाँले रिसाएर चारैतिर ती सबैलाई हेर्नुभयो; अनि त्यस मानिसलाई भन्नुभयो, "तिम्रो हात सीधा पार।" त्यसले सीधा पार्यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।