25 त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिइन्। 26 तिनले धेरै चिकित्सकहरू लगाएर उपचार गरेकी थिइन्, र भएभरको सबै कुरा खर्च गरिसकेकी थिइन्; तर पनि लाभ हुनुको साटो झन्-झन् खराब अवस्थामा पुगेकी थिइन्। 27 जब तिनले येशूको विषयमा सुनिन्, तब भीडको पछिल्तिरबाट आइन् र उहाँको वस्त्र छोइन्; 28 किनकि तिनले सोचेकी थिइन्, "यदि मैले उहाँको वस्त्र छुन मात्र पाएँ भने पनि म निको हुनेछु।" 29 अनि तुरुन्तै तिनको रगत बन्द भइहाल्यो, र आफ्नो शरीरमा रोग निको भएको तिनले थाहा पाइन्।
30 येशूलाई आफ्नो शरीरबाट शक्ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, "मेरो वस्त्र कसले छोयो?"
31 उहाँका चेलाहरूले जवाफ दिए, "मानिसहरूका भीडले तपाईंलाई घचेटिरहेका देख्दैहुनुहुन्छ, र पनि सोध्नुहुन्छ, ‘मलाई कसले छोयो?’ "
32 तर येशूले आफूलाई कसले छोयो भनी चारैतिर हेर्नुभयो। 33 तब ती स्त्रीले आफूमा के भएको थियो, सो जानेर आइन् र उहाँको पाउमा घोप्टो परिन्; अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताइन्। 34 उहाँले त्यसलाई भन्नुभयो, "छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ। तिमी आफ्नो कष्टबाट मुक्त भयौ।"