35 त्यस बेला दिन ढल्किसकेको थियो। त्यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, "यो एउटा सुनसान ठाउँ हो, र समय धेरै ढिलो भइसकेको छ। 36 यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।"
37 तर उहाँले भन्नुभयो, "तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।"
तिनीहरूले उहाँलाई भने, "त्यसका लागि छ महिनाभन्दा बढीको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिएको तपाईं चाहनुहुन्छ र?"
38 उहाँले सोध्नुभयो, "तिमीहरूसित कति वटा रोटी छन्? जाओ, गएर हेर।"
तिनीहरूले पत्ता लगाएर भने, "पाँच वटा रोटी र दुई वटा माछा रहेछन्।"
39 तब येशूले सबै मानिसलाई झुण्ड-झुण्ड बनाएर हरियो चउरमा बसून् भनी आज्ञा दिनुभयो। 40 यसकारण तिनीहरू सय-सय र पचास-पचासको झुण्ड बनाएर बसे। 41 ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो। 42 तिनीहरू सबैले पेटभरि खाए। 43 अनि चेलाहरूले उब्रेका टुक्राहरू जम्मा पार्दा रोटी र माछाले बाह्र डालाभरि उठाए। 44 ती खानेहरूमा पुरुषहरू मात्रै पाँच हजार थिए।