येशूले बहिरो र लाटो मानिसलाई निको पार्नुभएको
31 तब येशू टायर वरपरको ठाउँ छोडेर सीदोन हुँदै गालीलको समुद्र र डेकापोलिसको क्षेत्रतिर जानुभयो। 32 त्यहाँ केही मानिसहरूले एक जना बहिरो र लाटो मानिसलाई उहाँकहाँ ल्याए। अनि त्यसमाथि हात राखिदेऊन् भनी येशूलाई बिन्ती गरे।
33 येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो र आफ्ना औँलाहरू त्यस मानिसका कानहरूमा हाल्नुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो। 34 उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्नुभयो, "एफाता!" (जसको अर्थ हो, "खोलिजा!") 35 तुरुन्तै त्यस मानिसका कानहरू खोलिए; त्यसको जिब्रो चल्यो र त्यो स्पष्ट गरी बोल्न थाल्यो।
36 येशूले तिनीहरूलाई यो कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे। 37 मानिसहरू आश्चर्यचकित भएर तिनीहरूले भने, "उहाँले हरेक कुरा असल गर्नुभएको छ! उहाँले बहिरोलाई सुन्न सक्ने र लाटोलाई बोल्न सक्ने बनाउनुहुन्छ।"