Publicidade

Jó 36

1 एलिहू बोल्दै गए:

2 "मसँग केही बेर धैर्य धारण गर्नुहोस्, र म तपाईंलाई देखाउनेछु,

कि परमेश्‍वरको पक्षबाट भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्।

3 मैले आफ्नो ज्ञान टाढाबाट पाउनेछु;

र न्यायको श्रेय मेरा सृष्‍टिकर्तालाई दिनेछु।

4 मेरा कुराहरू झूटो होइनन् भनी निश्‍चित रहनुहोस्;

ज्ञानमा अति सिद्ध हुनुहुने उहाँ तपाईंसँग हुनुहुन्छ।

5 "परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, तर उहाँले कसैलाई तुच्छ ठान्‍नुहुन्‍न;

उहाँ शक्तिशाली र उहाँको उद्देश्यमा दृढ हुनुहुन्छ।

6 उहाँले दुष्‍टलाई जीवित राख्नुहुन्‍न;

तर पीडितहरूलाई तिनीहरूका अधिकार दिनुहुन्छ।

7 उहाँले धर्मीहरूबाट आफ्नो नजर हटाउनुहुन्‍न;

उहाँले तिनीहरूलाई राजाहरूसँग सिंहासनमा बसाल्नुहुन्छ;

र तिनीहरूलाई सदाकालको निम्ति उच्‍च पार्नुहुन्छ।

8 तर यदि मानिसहरू साङ्लामा बाँधिएका,

र पीडाका डोरीहरूले जकडिएका छन् भने,

9 तिनीहरूले के गरे भनी उहाँले तिनीहरूलाई भन्‍नुहुन्छ—

किनकि तिनीहरूले घमण्डसाथ पाप गरेका छन्।

10 उहाँले तिनीहरूलाई सुधार्नको लागि सल्‍लाह दिनुहुन्छ,

र तिनीहरूलाई आफ्ना दुष्‍टताबाट पश्‍चात्ताप गर्न आज्ञा दिनुहुन्छ।

11 यदि तिनीहरूले आज्ञा मानेर उहाँको सेवा गरे भने,

तिनीहरूले आफ्ना बाँकी रहेका दिनहरू समृद्धिमा

र तिनीहरूका वर्षहरू सुखैसुखमा बिताउनेछन्।

12 तर यदि तिनीहरूले सुनेनन् भने,

तिनीहरू तरवारद्वारा नाश हुनेछन्,

र ज्ञानविनै मरेर जानेछन्।

13 "ईश्‍वरहीन मानिसहरूले हृदयमा क्रोध पाल्छन्;

परमेश्‍वरले तिनीहरूलाई बन्धनमा राख्दाधरि तिनीहरू सहायताका निम्ति पुकार्दैनन्।

14 तिनीहरू मन्दिरका देवदासहरूका बीचमा अनैतिक जीवन बिताएर,

जवान उमेरमै मरेर जान्छन्,

15 तर उहाँले पीडितहरूलाई तिनीहरूका पीडाबाट छुटाउनुहुन्छ;

उहाँ तिनीहरूको कष्‍टमा तिनीहरूसँग बोल्नुहुन्छ।

16 "उहाँले तपाईंलाई कष्‍टको मुखबाट निकालेर

स्वतन्त्रताको खुल्‍ला ठाउँमा,

मिठो भोजनले भरिएको तपाईंको आरामदायी टेबुलमा ल्याउनुहुनेछ।

17 तर अहिले तपाईं अरू दुष्‍टको दण्डको कारणले लादिनुभएको छ;

अहिले तपाईंलाई न्याय र दण्डले पक्रिराखेको छ।

18 होसियार हुनुहोस्, कसैले पनि तपाईंलाई धनसम्पत्तिले नलोभ्याओस्;

तपाईंलाई प्रशस्त घूसले नबहकाओस्।

19 के तपाईंको धन अथवा तपाईंको सारा सामर्थी प्रयासले

तपाईंलाई थाम्न सक्छ र तपाईंले कष्‍ट भोग्नुपर्दैन?

20 मानिसहरूलाई तिनीहरूका घरहरूबाट

घिस्याएर लैजाने रातको चाह नगर्नुहोस्।

21 दुष्‍टताबाट फर्कन होसियार हुनुहोस्;

किनकि तपाईं कष्‍टभन्दा त्यसैलाई रुचाउँदै हुनुहुन्छ।

22 "परमेश्‍वर उहाँको शक्तिमा उच्‍च पारिनुभएको छ।

उहाँजस्तो शिक्षक को छ र?

23 कसले उहाँका निम्ति मार्ग निर्धारित गरिदिएको छ,

अथवा कसले उहाँलाई, ‘तपाईंले गल्ती गर्नुभएको छ’ भनी भन्‍न सक्छ र?

24 तपाईंले उहाँको कामको प्रशंसा गर्न स्मरण गर्नुहोस्,

जुन कामलाई मानिसहरूले गीतद्वारा प्रशंसा गरेका छन्।

25 सबै मानिस जातिहरूले उहाँको कामलाई देखेका छन्;

मरणशील मानिसहरूले टाढाबाट त्यसलाई हेरिरहन्छन्।

26 परमेश्‍वर कति महान् हुनुहुन्छ—हाम्रो समझशक्तिभन्दा बाहिर!

उहाँका आयुका वर्षहरू पत्ता लगाउन असम्भव छ।

27 "उहाँले पानीका थोपाहरू माथितिर खिँच्नुहुन्छ,

जसलाई त्यसको बाफअनुसार झरीको रूपमा बर्साउनुहुन्छ।

28 बादलले तिनीहरूको आफ्नो ओस पृथ्वीमा बर्साउँछन्,

अनि मानिस जातिहरूमा प्रचुर झरी भएर बर्सिन्छ।

29 उहाँले बादललाई कसरी फिँजाउनुभयो,

उहाँको मण्डपबाट मेघ कसरी गर्जन्छ भनी कसले बुझ्न सक्छ?

30 उहाँले कसरी आफ्नो चारैतिर बिजुली चम्काउनुहुन्छ,

तर समुद्रको गहिराइचाहिँ अँध्यारो नै रहन्छ।

31 उहाँले यसरी जाति-जातिहरूमाथि शासन गर्नुहुन्छ,

र तिनीहरूलाई प्रशस्त मात्रामा भोजन जुटाउनुहुन्छ।

32 उहाँले आफ्नो हात बिजुलीले भर्नुहुन्छ;

अनि बिजुलीलाई निशानामा प्रहार गर्ने आज्ञा दिनुहुन्छ।

33 उहाँको मेघ गर्जनले आँधीबेहरी आउने सूचना दिन्छ;

गाईबस्तुले समेत आँधीबेहरी आइरहेको आभास गर्छन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-19_11-20-24-