Publicidade

Jó 10

1 "म यो जीवनदेखि विरक्तिएको छु;

यसकारण म धीत नमरुन्जेल गुनासो पोख्नेछु;

र म मेरो मनको तितोपना व्यक्त गर्नेछु।

2 म परमेश्‍वरलाई भन्दछु: मलाई दोषी नठहराउनुहोस्

तर मेरो विरुद्ध तपाईंका कस्ता आरोपहरू छन्, मलाई भन्‍नुहोस्।

3 मलाई सताएर,

आफ्नै हातको कामलाई घृणा गरेर के तपाईंलाई खुशी मिल्छ र?

जबकि तपाईं दुष्‍टको युक्तिमा चाहिँ मुस्कुराउनुहुन्छ?

4 के तपाईंका आँखाहरू मानिसका जस्ता छन्?

के तपाईं मरणशील मानिसले हेरेँझैँ हेर्नुहुन्छ र?

5 के तपाईंका दिनहरू मरणशील मानिसका जस्तै छन् र?

अथवा तपाईंका वर्षहरू एक बलियो मानिसका जस्तै छन् र?

6 तब तपाईंले मेरा दोषहरू सोधखोज गर्नुहुन्छ,

र मेरा पापहरू खोतल्नुहुन्छ?

7 यद्यपि म दोषी छैनँ भनेर तपाईं जान्‍नुहुन्छ,

र मलाई तपाईंको हातबाट कसैले छुटाउन सक्दैन।

8 "तपाईंका आफ्नै हातले मलाई आकार दिनुभयो, र मलाई बनाउनुभयो।

के अब तपाईं आफैँले मलाई नाश गर्नुहुन्छ त?

9 सम्झना गर्नुहोस्, तपाईंले नै मलाई माटोबाट रच्नुभयो;

के अब तपाईंले मलाई फेरि धुलोमै पठाउनुहुन्छ?

10 के तपाईंले मलाई दूधजस्तै खन्याउनुभएको,

अनि मलाई पनिरझैँ जमाउनुभएको छैन र?

11 तपाईंले मलाई छाला र मासु पहिराउनुभई,

अनि मलाई हड्डी र नसाहरूले एकसाथ गाँस्‍नुभएको होइन र?

12 तपाईंले मलाई जीवन दिनुभयो र मलाई दया देखाउनुभएको छ;

र तपाईंको हेरचाहले मेरो आत्मा सुरक्षित भएको छ।

13 "तर यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्नुभएको थियो;

र यी कुराहरू तपाईंको मनमा थियो भनी म जान्दछु:

14 यदि मैले पाप गरेको भए, तपाईंले मलाई हेरिरहनुहुनेथियो;

र मेरा अपराधको दण्ड नदिई छोड्नुहुने थिएन।

15 यदि म दोषी छु भने मलाई धिक्‍कार होस्!

म निर्दोष भए तापनि म आफ्नो शिर उठाउन सक्दिनँ;

किनकि म शर्ममा परेको छु,

अनि आफ्नो दुःखमा डुबेको छु।

16 यदि मैले शिर उठाउन कोसिस गरेँ भने पनि, सिंहले झैँ तपाईंले मलाई खेद्नुहुन्छ;

र फेरि मेरो विरुद्धमा तपाईंले आफ्नो डरलाग्दो शक्ति देखाउनुहुन्छ।

17 तपाईंले फेरि मेरो विरुद्धमा नयाँ साक्षीहरू भेला पार्नुहुन्छ,

र मेरो विरुद्ध आफ्नो क्रोध बढाउनुहुन्छ;

तपाईंका सेनाहरू मेरो विरुद्धमा छालहरू जस्तै आइलाग्छन्।

18 "मलाई त्यस्तै गर्ने तपाईंको आसय थियो

भने किन तपाईंले मलाई गर्भबाट बाहिर निस्कन दिनुभयो?

कसैको आँखाले मलाई देख्नुअगि नै बरु म मरेको भए हुनेथियो।

19 यदि म अस्तित्वमै नआएको भए हुनेथियो,

अथवा गर्भबाट सीधै चिहानमा लगिएको भए हुनेथियो!

20 के अब मेरा थोरै दिनहरू सकिनै लागेका छैनन् र?

मबाट टाढा रहनुहोस्, ताकि केही क्षणको निम्ति म आनन्द पाउन सकूँ।

21 मबाट टाढा रहनुहोस्, म फेरि नफर्किने देशमा जानुअगि;

जहाँ अन्धकार र घोर अन्धकार छ।

22 घोर अन्धकारको त्यो देशमा जान दिनुहोस्,

जहाँ अन्धकार र अस्तव्यस्त छ,

जहाँ उज्यालो पनि अँध्यारोझैँ छ।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-