Publicidade

Jó 30

1 "तर अहिले त मभन्दा साना उमेरकाहरूले

मेरो हाँसो उडाउँछन्,

जसका बुबाहरूलाई मेरा भेडाहरूलाई हेर्ने

कुकुरहरूसँग राख्न पनि अयोग्य ठान्थेँ।

2 तिनीहरूको जोश तिनीहरूबाट गइसकेको हुनाले,

मेरा निम्ति तिनीहरूका हातको बल के नै कामको थियो र?

3 अभाव र भोकले दुब्लाएर,

तिनीहरू राति सुक्खा जमिनमा भौँतारिन्थे,

र उजाड ठाउँतिर डुलिहिँड्थे।

4 तिनीहरूले झाडीबाट नुनिला झारपातहरू बटुल्थे,

र तिनीहरूको भोजन कुचोको झाङका जराहरू थिए।

5 तिनीहरू मानव समाजबाट धपाइएका थिए,

चोरहरूलाई कराएर लखेटेजस्तै तिनीहरूलाई लखेटिन्थ्यो।

6 तिनीहरू खोलाका सुक्खा बगरहरू,

जमिनका दुलाहरू र चट्टानका चिराहरूमा बस्‍न बाध्य हुन्थ्यो।

7 तिनीहरू झाडीहरूमा कराई हिँड्थे

र पोथ्राहरूको मुनि गुटमुटिरहन्थे।

8 तिनीहरू मूर्ख र बेनामका सन्तानहरू;

तिनीहरू देशबाट निकालिएकाहरू थिए।

9 "तर अहिले तिनीहरूका छोराहरूले गीत गाएर मलाई गिल्‍ला गर्छन्;

म त तिनीहरूको बीचमा हाँसोको पात्र भएको छु।

10 तिनीहरूले मलाई घृणा गर्छन्, र मबाट टाढै रहन्छन्;

तिनीहरूले मेरो मुखमा थुक्नधरि अप्ठ्यारो मान्दैनन्।

11 अहिले परमेश्‍वरले मेरो धनुलाई तारविनाको बनाइदिनुभएको छ र मलाई पीडा दिनुभएको छ;

तिनीहरूले मेरो सामु संयमता त्यागेका छन्।

12 मेरो दाहिनेतिर एउटा झुण्डले आक्रमण गर्छ;

तिनीहरूले मेरो खुट्टाको लागि पासो थाप्छन्,

तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्।

13 तिनीहरूले मेरो बाटो भत्काउँछन्;

तिनीहरूले, ‘यसलाई कसैले सहायता गर्दैन,’ भनेर

मलाई नाश गर्न सफल हुन्छन्।

14 तिनीहरू पर्खालका चेपहरूबाट छिरेर अगि बढ्छन्;

तिनीहरू भग्नावशेषहरूबाट ठेलमठेल गर्दै मतिर आउँछन्।

15 मलाई त्रासले छाएको छ;

मेरो प्रतिष्‍ठा बतासले उडाएजस्तै भएको छ,

मेरो सुरक्षा बादलजस्तै हराएको छ।

16 "र अहिले मेरो जीवन मभित्रै छोटिँदै गइरहेको छ;

कष्‍टपूर्ण दिनहरूले मलाई पक्रेका छन्।

17 रातले मेरा हड्डीहरूलाई छेड्छ;

मलाई पिरोल्‍ने पीडा कहिल्यै थामिँदैन।

18 परमेश्‍वर आफ्नो महान् शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ;

उहाँले मलाई मेरो लुगाको कठालोले जस्तै गरी घाँटीमा अँठ्यानुभएको छ।

19 उहाँले मलाई हिलोमा फ्याँक्नुभएको छ,

अनि म धुलो र खरानीजस्तै भएको छु।

20 "हे परमेश्‍वर, म तपाईंलाई पुकार्दछु, तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न;

म प्रार्थनामा खडा हुन्छु, तर तपाईंले मलाई हेर्नु पनि हुन्‍न।

21 तपाईं मसँग निर्दयी हुनुभएको छ;

आफ्नो बलियो हातले मलाई आक्रमण गर्नुहुन्छ।

22 तपाईंले मलाई उचाल्नुहुन्छ र हावाको अगाडि पछार्नुहुन्छ;

तपाईंले मलाई आँधीमा यताउति हुर्र्याउनुहुन्छ।

23 म जान्दछु कि तपाईंले मलाई मृत्युमा पुर्‍यानुहुन्छ,

त्यस ठाउँमा, जुन सबै जीवित प्राणीहरूका निम्ति तोकिएको छ।

24 "पीडित मानिसले आफ्नो कष्‍टमा सहायताको निम्ति बिन्ती गर्दा

निश्‍चय नै त्यसमाथि कसैले हात उठाउँदैन।

25 के म सङ्कष्‍टमा परेकाहरूका निम्ति रोएको थिइनँ र?

के मेरो आत्मा गरिबका निम्ति शोकित भएन र?

26 तरै पनि मैले असल कुराको निम्ति आशा गर्दा दुष्‍टता नै आइलाग्यो;

मैले ज्योतिको खोजी गर्दा अन्धकार नै आइलाग्यो।

27 मभित्रको उथलपुथल कहिल्यै थामिँदैन;

कष्‍टका दिनहरूले मेरो सामना गर्छन्।

28 म कालो भएको छु, तर घामले होइन;

म सभामा खडा हुन्छु, र सहायताको निम्ति कराउँछु।

29 म त स्यालहरूको भाइ,

उल्‍लुहरूको साथी भएको छु।

30 मेरो छाला डढेर कालो भएको छ, र पिल्सिएको छ;

मेरो शरीर ज्वरोले जलेको छ।

31 मेरो वीणा शोकमा परिणत भएको छ,

र मेरो बाँसुरीले विलापको आवाज निकाल्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-19_11-20-24-