Pular para o conteúdo
Publicidade

इयोब 20

सोपरको संवाद

1 तब सोपर नमातीले जवाफ दिए:

2 "मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ;

किनकि म धेरै विचलित भएको छु।

3 जब म मेरो अपमान हुने गालीहरू सुन्छु,

मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ।

4 "निश्‍चय नै तपाईंले जान्‍नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ,

मानव-जातिलाई20:4 अथवा आदम यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,

5 कि दुष्‍ट मानिसहरूको खुशी एकछिनको लागि,

र ईश्‍वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।

6 यद्यपि ईश्‍वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला

र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,

7 तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ;

त्यसलाई देखेकाहरूले भन्‍नेछन्, ‘खोइ, त्यो कहाँ छ?’

8 कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ,

रातको दर्शनजस्तै लोप भएर जान्छ।

9 त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्;

त्यसको ठाउँले त्यसलाई फेरि चिन्‍नेछैन।

10 त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ;

त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ।

11 त्यसका हड्डीहरूमा भरिएका यौवन

त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।

12 "दुष्‍टता त्यसको मुखमा मिठो भए तापनि

र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,

13 तथापि त्यसले त्यो छोड्न सक्दैन,

त्यसको मुखमै रहिरहे तापनि

14 त्यसको भोजन त्यसको पेटमा अमिलो बन्‍नेछ;

र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।

15 त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ;

परमेश्‍वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।

16 त्यसले सर्पको विष चुस्‍नेछ;

विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।

17 त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने

नदीहरूमा आनन्द लिन पाउनेछैन।

18 त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ;

त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।

19 किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ;

र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ।

20 "निश्‍चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन;

त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन।

21 त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन;

त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन।

22 त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ;

जोडले कष्‍टको बोझ त्यसमाथि आइपर्नेछ।

23 त्यसले आफ्नो पेट भरेको बेला,

परमेश्‍वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ,

र त्यसमाथि आफ्नो मुक्‍का बर्साउनुहुनेछ।

24 त्यो फलामको हतियारबाट बाँचे तापनि

काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।

25 त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ,

र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ।

अनि त्रास त्यसमाथि आइपर्नेछ।

26 त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ;

नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ;

र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।

27 आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ;

पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ।

28 त्यसको घरलाई बाढीले,

र परमेश्‍वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।

29 परमेश्‍वरले दुष्‍ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ,

परमेश्‍वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.