Publicidade

Jó 23

इयोबको संवाद

1 तब इयोबले जवाफ दिए:

2 "आज पनि मेरो गुनासो तितो छ;

म आर्तनादमा छु, तर पनि उहाँको हात ममाथि भार भएको छ।

3 यदि मैले उहाँलाई कहाँ भेट्टाउन सक्छु भनी जानेको भए;

यदि म उहाँको वासस्थानमा जान सक्ने भए,

4 म आफ्नो मुद्दा उहाँको सामु पेश गर्नेथिएँ,

र मेरो मुख तर्कहरूले भर्नेथिएँ।

5 उहाँले मलाई कस्तो जवाफ दिनुहुँदो रहेछ भनी म पत्तो लगाउनेथिएँ,

र उहाँले मलाई के भन्‍नु हुँदोरहेछ, त्यो विचार गर्नेथिएँ।

6 के उहाँले मलाई आफ्नो महान् शक्तिले विरोध गर्नुहुन्थ्यो?

होइन, उहाँले मेरो विरुद्ध आरोप लगाउनुहुनेथिएन।

7 त्यहाँ धर्मी मानिसले तिनीहरूको निर्दोषता उहाँको सामु स्थापित गर्न सक्छन्,

र त्यहाँ मेरा न्यायकर्ताबाट मैले सदाको निम्ति छुटकारा पाउन सक्थेँ।

8 "यदि म पूर्वमा गएँ भने, उहाँ त्यहाँ हुनुहुन्‍न;

यदि म पश्‍चिममा गएँ भने, म उहाँलाई भेट्टाउन सक्दिनँ।

9 जब उहाँ उत्तरमा काम गर्नुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ;

जब उहाँ दक्षिणतिर फर्कनुहुन्छ, म उहाँको एक झलक पनि पाउन सक्दिनँ।

10 तर उहाँले मैले लिएको मार्ग जान्‍नुहुन्छ;

जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म निखुर सुनजस्तै भएर आउनेछु।

11 मेरा खुट्टाहरूले उहाँका पाइलाहरूलाई नजिकबाट पछ्याएका छन्;

मैले नतर्किकन उहाँका मार्गहरूलाई पछ्याएको छु।

12 म उहाँका ओठका आज्ञाहरूबाट तर्किएर गएको छैनँ;

मैले उहाँका मुखका वचनहरूलाई मेरो दैनिक भोजनभन्दा पनि ज्यादै साँचेर राखेको छु।

13 "तर उहाँ अपरिवर्तनीय हुनुहुन्छ, र कसले उहाँको विरोध गर्न सक्छ?

उहाँले जे रुचाउनुहुन्छ, त्यही गर्नुहुन्छ।

14 उहाँले आफ्नो आदेश मेरो विरुद्धमा जारी गर्नुहुन्छ,

र उहाँले अझै यस्ता धेरै योजनाहरू साँच्नुभएको छ।

15 यसैकारण म उहाँको सामु त्रसित हुन्छु;

जब म यी सबै कुरा विचार गर्छु, तब म उहाँसँग भयभीत हुन्छु।

16 परमेश्‍वरले मेरो हृदयलाई मूर्च्छा पार्नुभएको छ;

सर्वशक्तिमान्‌ले मलाई त्रसित बनाउनुभएको छ।

17 बाक्लो अन्धकारले मेरो अनुहारलाई छोप्छ,

तापनि अन्धकारले मलाई चुप लगाउन सक्दैन।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-19_11-20-24-