Publicidade

Jó 5

1 "यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र?

तपाईं कुनचाहिँ पवित्र जनकहाँ फर्कनुहुन्छ?

2 रिसले मूर्खलाई मार्छ,

र डाहले सोझा मानिसलाई मार्छ।

3 म आफैँले मूर्खले जरा गाडेको देखेको छु,

तर अचानक त्यसको घर श्रापित भयो।

4 त्यसका छोराछोरीहरू असुरक्षित छन्;

अदालतमा तिनीहरूलाई छुटाउनेवाला कोही नभएर पेलिएका छन्।

5 त्यसको अन्‍नबारी भोकाएका मानिसहरूले खाइदिन्छन्,

काँडाहरूका बीचबाट पनि निकालेर लगिदिन्छन्;

र लोभीले त्यसको धन हडप्ने लालसा गर्छ।

6 किनकि कठिनाइ माटोबाट उम्रँदैन,

न त विपत्ति भुइँबाट पलाउँछ।

7 तरै पनि आगोको झिल्का माथि उडेझैँ

मानिस विपत्तिकै निम्ति जन्मन्छ।

8 "तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्‍वरलाई बिन्ती चढाउनेथिएँ;

मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ।

9 परमेश्‍वरले हामीले बुझ्नै नसकिने अद्‌भुत कार्यहरू,

गन्‍नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ,

10 उहाँले पृथ्वीको लागि वर्षा पठाउनुहुन्छ;

उहाँले खेतबारीमा पानी पठाउनुहुन्छ।

11 उहाँले नम्रहरूलाई उच्‍च पार्नुहुन्छ,

र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ।

12 उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ,

ताकि तिनीहरूका हातले सफलता नपाऊन्।

13 उहाँले बुद्धिमान्‌लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ;

र बठ्याइँ गर्नेहरूका योजनाहरूको चाँडै अन्त्य हुन्छ।

14 तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछ;

मध्यदिनमै तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्।

15 उहाँले खाँचोमा परेकाहरूलाई तिनीहरूका मुखमा भएको तरवारबाट बचाउनुहुन्छ;

उहाँले तिनीहरूलाई शक्तिशालीहरूका पञ्जाबाट बचाउनुहुन्छ।

16 त्यसकारण गरिबको निम्ति आशा छ;

र अन्यायले आफ्नो मुख बन्द गर्छ।

17 "धन्यको हो त्यो मानिस, जसलाई परमेश्‍वरले सुधार गर्नुहुन्छ;

यसकारण सर्वशक्तिमान् परमेश्‍वरको अनुशासनलाई तिरस्कार नगर्नुहोस्।

18 किनकि उहाँले घाउ पार्नुहुन्छ, तर उहाँले नै मलमपट्टी बाँध्नु पनि हुन्छ;

उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ।

19 उहाँले तपाईंलाई छ वटा विपत्तिहरूबाट छुटाउनुहुनेछ;

सातौँ विपत्तिले समेत तपाईंलाई छुनेछैन।

20 उहाँले तपाईंलाई अनिकालमा मृत्युबाट,

र युद्धमा तरवारको प्रहारबाट बचाउनुहुनेछ।

21 तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ,

र विनाश आउँदा पनि डराउनुपर्नेछैन।

22 तपाईं विनाश र अनिकालमा हास्‍नुहुनेछैन;

र जङ्गली जनावरहरूसँग पनि डराउनुपर्नेछैन।

23 किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ;

र जङ्गली जनावरहरू तपाईंसँग मेलमिलापमा रहनेछन्।

24 तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ;

तपाईंले आफ्नो सम्पत्तिको हिसाब लिनुहुनेछैन,

र त्यस सम्पत्तिबाट केही पनि चीज हराएको भेट्टाउनुहुनेछैन।

25 तपाईंका छोराछोरी धेरै हुनेछन्,

र तपाईंका सन्तानहरू पृथ्वीका घाँसजस्तै हुनेछन् भनी तपाईंले थाहा पाउनुहुनेछ।

26 ठिक ऋतुमा बाली बटुलेझैँ,

तपाईं चिहानमा जाँदा पूरा बुढेसकालमा लगिनुहुनेछ।

27 "हामीले यी कुरा जाँचेका छौँ, र यो सत्य हो।

यसैले यो कुरा सुन्‍नुहोस् र आफैँमा यो लागू गर्नुहोस्।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-