Publicidade

Jó 3

इयोबको संवाद

1 त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्‍कार्न थाले। 2 तिनले भने:

3 "म जन्मेको त्यो दिनलाई धिक्‍कार होस्!

र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यो रात पनि मेटिओस्!

4 त्यो दिन अन्धकारमा परिणत होस्;

उच्‍चमा हुनुहुने परमेश्‍वरले त्यस दिनको वास्तै नगरून्;

न त त्यो दिनमाथि कुनै ज्योति चम्कियोस्।

5 त्यो दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्;

त्यो दिनमाथि बादल छाओस्;

र घोर अन्धकारले भयभीत पारोस्।

6 त्यो रात निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्;

त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्;

न त त्यो दिन कुनै महिनामा आओस्।

7 त्यो रात बाँझो होस्;

त्यो रातमा कुनै आनन्दको सोर नसुनियोस्।

8 दिनलाई सराप्नेहरूले, लिव्यातनलाई उठाउनेहरूले समेत

त्यो दिनलाई धिक्‍कारून्।

9 त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्;

त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्।

र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;

10 किनभने त्यो रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन,

न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।

11 "किन म जन्मँदै मरिनँ,

अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?

12 किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू,

र मलाई दूधपान गराउने स्तनहरू थिए?

13 नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ;

म सुतेको अवस्थामा विश्राम पाउँथेँ।

14 पृथ्वीका राजाहरू र राजाका सल्‍लाहकारहरूसँग,

जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;

15 सुन भएका भारदारहरूसँग,

जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।

16 अथवा नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ,

अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?

17 दुष्‍ट मानिसहरू पनि चिहानमा दुष्‍ट्याइँ गर्न छोड्छन्;

र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।

18 त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्;

न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।

19 साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्;

अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।

20 "किन कष्‍टमा भएकाहरूलाई ज्योति,

र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?

21 जो मर्न चाहन्छन्, तर मृत्यु आउँदैन;

जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,

22 तिनीहरू मृत्यु आउँदा आनन्दले भरिन्छन्;

अनि चिहानमा पुग्दा खूबै रमाउँछन्।

23 मानिसलाई जीवन किन दिइन्छ?

जसको मार्ग लुकिएको छ,

जसलाई परमेश्‍वरले दुःखको घेरा भित्र राख्नुभएको छ।

24 किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ;

मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।

25 म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ;

अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।

26 न मलाई शान्ति छ, न त सुख नै छ;

मेरा निम्ति आराम छैन, तर दुःख-कष्‍ट मात्र छ।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-19_11-20-24-