Publicidade

Jó 9

इयोबको संवाद

1 तब इयोबले यस्तो जवाफ दिए:

2 "वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु।

तर परमेश्‍वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र?

3 उहाँसँग कसैले वाद-विवाद गर्न चाह्‍यो भने तापनि

मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्।

4 उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ।

उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ?

5 उहाँले पहाडहरूलाई तिनीहरूले चालै नपाई हटाउनुहुन्छ,

अनि उहाँले आफ्नो रिसमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ।

6 परमेश्‍वरले पृथ्वीलाई त्यसको ठाउँबाट हल्‍लाइदिनुहुन्छ,

र त्यसका खम्बाहरू थरथर काँप्छन्।

7 उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यसले प्रकाश दिँदैन;

उहाँले ताराहरूको चमकलाई बन्द गर्नुहुन्छ।

8 उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ,

र समुद्रका छालहरूमाथि कुल्चनुहुन्छ।

9 उहाँ सप्‍तर्षि, मृगशिरा,

किरकिटी नक्षत्रहरू र दक्षिणका तारामण्डलहरूका सृष्‍टिकर्ता हुनुहुन्छ।

10 उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्‌भुत कार्यहरू

र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ।

11 जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ;

उहाँ मेरै छेउबाट भएर जानुहुँदा पनि म थाहा पाउँदिनँ।

12 यदि उहाँले कसैबाट केही खोस्‍नुभयो भने, कसले उहाँलाई रोक्न सक्छ र?

कसले उहाँलाई ‘तपाईंले यो के गर्दै हुनुहुन्छ?’ भनेर सोध्न सक्छ र?

13 परमेश्‍वरले आफ्नो रिस थाम्नुहुन्‍न;

राहाबका सहयोगीहरूले समेत उहाँको पाउमा झुक्छन्।

14 "त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र?

उहाँसँग बहस गर्ने शब्दहरू म कसरी भेट्टाउन सक्छु र?

15 यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ;

म मेरा न्यायाधीससँग कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु।

16 यदि मैले उहाँलाई बोलाएँ, र उहाँले जवाफ दिनुभए तापनि

उहाँले मेरो कुरा सुन्‍नुहुन्छ भनी म विश्‍वास गर्दिनँ।

17 उहाँले मलाई आँधीबेहरीले आक्रमण गर्नुहुन्छ,

र कारणविना मेरा चोटहरू बढाइदिनुहुन्छ।

18 उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्‍न,

तर दुःखले मलाई व्याकुल पारिदिनुहुन्छ।

19 यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ!

र यदि न्यायको कुरा हो भने कसले उहाँलाई चुनौती दिन सक्छ?

20 म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ;

म दोषरहित भए तापनि उहाँले मलाई दोषी ठहराउनुहुनेछ।

21 "यद्यपि म दोषरहित छु,

मलाई मेरो आफ्नो कुनै वास्ता छैन;

म आफ्नै जीवनलाई तुच्छ ठान्छु।

22 सबै कुरा एउटै हो; त्यसैले म भन्दछु,

‘उहाँले निर्दोष र दुष्‍ट मानिस दुवैलाई नाश गर्नुहुन्छ।’

23 ठूलो विपत्तिले अचानक मृत्यु ल्याए तापनि

निर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्‍नुहुन्छ।

24 जब दुष्‍ट मानिसको हातमा देश पर्छ;

यसका न्यायकर्ताहरूलाई उहाँले अन्धा तुल्याइदिनुहुन्छ।

यदि यसो गर्नुहुने उहाँ होइन भने अरू को होला त?

25 "मेरा दिनहरू त धावक दौडिएको भन्दा पनि छिटो दौडिरहेका छन्;

आनन्दको झलकविना नै ती उडेर जान्छन्।

26 निगालाको डुङ्गा पानीमा सलल बगेझैँ,

र चीलहरू आफ्नो शिकारमाथि वेगले झम्टिएझैँ, मेरा दिनहरू बितिरहेका छन्।

27 ‘तपाईंप्रतिको मेरो गुनासो बिर्सनेछु,

म आफ्नो अनुहारको उदासीपनलाई हटाएर मुस्कुराउँनेछु,’ भनि मैले भने तापनि

28 आफूले भोगेका सबै कष्‍टहरूको कारण झन् म डराउँछु;

किनकि म जान्दछु, तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन।

29 म पहिले नै दोषी ठहराइएको छु भने

मैले किन आफूलाई निर्दोष साबित गर्ने व्यर्थमा कोसिस गरूँ?

30 यदि मैले आफूलाई हिउँले नुहाएँ भने पनि,

र मेरा हात खरानी पानीले धोएँ तापनि

31 तपाईंले मलाई हिले खाडलमा चोप्नुहुन्छ,

जसले गर्दा मेरा लुगाले समेत मलाई घिन मान्‍नेछ।

32 "किनकि परमेश्‍वर मजस्तै मरणशील मानिस हुनुहुन्‍न,

म कसरी उहाँलाई जवाफ दिन सक्छु,

अनि हामी अदालतमा एक-अर्कासँग सामना गर्न सक्छौँ।

33 यदि परमेश्‍वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने,

यदि कसैले हामीलाई एकसाथ ल्याउने भइदिए,

34 परमेश्‍वरको लहुरो मबाट कसैले हटाऊन्,

ताकि उहाँको त्रासले मलाई अझ बढी भयभीत नपारोस्।

35 तब म उहाँको डरविना नै बोल्नेथिएँ,

तर अहिलेको मेरो अवस्थामा म सक्दिनँ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-19_11-20-24-