Publicidade

Jó 29

इयोबको अन्तिम बहस

1 इयोबले आफ्नो बहस जारी राखेर भने:

2 "अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु,

किनकि ती दिनहरूमा परमेश्‍वरले मेरो हेरचाह गर्नुहुन्थ्यो;

3 जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो,

र उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्‍डुल गर्थेँ;

4 अहो, सुखका ती मेरा दिनहरू,

जब परमेश्‍वरसँगको घनिष्‍ठ मित्रताले मेरो घरमा आशिष् ल्याउँथ्यो;

5 जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो,

र मेरा छोराछोरीहरू मेरा चारैतिर हुन्थे;

6 जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे,

र चट्टानले मेरो निम्ति जैतुनको तेलका खोलाहरू बहाउँथ्यो।

7 "जब म सहरको मूलढोकामा जान्थेँ,

र सार्वजनिक चोकमा आफ्नो आसन ग्रहण गर्थेँ।

8 जवान मानिसहरू मलाई देखेर बाटो छोड्थे,

र वृद्ध मानिसहरू आदरसाथ बसेको ठाउँबाट उठ्थे;

9 सहरका प्रमुख मानिसहरू बोल्न छोड्थे,

र तिनीहरूले आफ्ना मुख हातले छोप्थे;

10 शासकहरूका आवाज मन्द हुन्थ्यो,

र तिनीहरूको जिब्रो तिनीहरूको तालुमा टाँसिन्थ्यो।

11 मलाई सुन्‍नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे,

र मलाई देख्नेहरूले मेरो गुणगान गर्थे;

12 किनकि सहायताको लागि गरिबहरूले पुकार्दा म तिनीहरूलाई सहायता गर्न तत्पर रहन्थेँ,

मैले असहाय अनाथहरूलाई छुटाउथेँ।

13 मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो;

मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ।

14 मैले धार्मिकतालाई मेरो लुगाझैँ पहिरने गर्दथेँ;

न्याय मेरो लवेदा र मेरो फेटा थियो।

15 म अन्धाका निम्ति आँखा,

र लङ्गडाका निम्ति खुट्टा थिएँ।

16 खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ;

म परदेशीहरूको पक्षमा मुद्दा लिन्थेँ।

17 मैले दुष्‍ट मनिसहरूका बङ्गारा तोडिदिएँ,

र तिनीहरूका दाँतहरूबाट पीडितहरूलाई खोसेँ।

18 "मैले सोच्ने गर्थेँ, ‘म मेरो आफ्नै घरमा मर्नेछु,

मेरा दिनहरू बालुवाका कणहरूझैँ धेरै छन्।

19 मेरा जराहरू पानीसम्म पुग्नेछन्;

र मेरा हाँगाहरूमा रातभरि नै शीत रहनेछ।

20 मेरो गौरव कहिल्यै घट्नेछैन;

मेरो धनु सदाकाल मेरो हातमा नयाँ भइरहनेछ।’

21 "मानिसहरू आशावादी भएर मेरो कुरा सुन्थे,

चुपचाप लागेर मेरो सल्‍लाह पर्खिरहन्थे।

22 मैले बोलिसकेपछि तिनीहरूले भन्‍ने कुरा रहँदैनथ्यो;

मेरा शब्दहरू तिनीहरूका कानमा बिस्तारै पर्दथ्यो।

23 तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे;

र मेरा वचनहरूलाई बसन्तको झरीझैँ पिउँथे।

24 मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो;

मेरो अनुहारको उज्यालो तिनीहरूका निम्ति विशेष थियो।

25 तिनीहरूका निम्ति म मार्ग छनौट गरिदिन्थेँ, र तिनीहरूका प्रमुखझैँ भएर बस्थेँ;

राजा आफ्ना सेनाहरूसँग बसेझैँ म बस्थेँ;

शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै म थिएँ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-