Publicidade

Jó 12

इयोबको संवाद

1 तब इयोबले जवाफ दिएर भने:

2 "निस्सन्देह, तपाईंहरू मात्र सबै कुरा जान्‍ने मानिसहरू हुनुहुन्छ,

र बुद्धि तपाईंहरूसँगै मर्नेछ!

3 तर तपाईंहरूसँग भएझैँ मसँग पनि समझ छ;

म पनि तपाईंहरूभन्दा कमको छैनँ।

यी सबै कुरा कसले जान्दैन र?

4 "यद्यपि मैले परमेश्‍वरलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो—

तर पनि म आफ्ना साथीहरूको निम्ति एउटा हाँसोको पात्र बनेको छु,

धर्मी र निर्दोष मानिस त एउटा हाँसोको पात्र पो बनिँदो रहेछ!

5 सुखी मानिसहरूले दुःखमा पर्नेहरूलाई उपहास गर्छन्;

र खुट्टा चिप्लनेहरूका खुट्टा तान्‍ने गर्छन्।

6 परमेश्‍वर तिनीहरूकै हातमा भएझैँ,

चोरहरू घरमा शान्तिसँग बस्दछन्,

र परमेश्‍वरलाई रिस उठाउनेहरू सुरक्षित छन्।

7 "तर जनावरहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंहरूलाई सिकाइदिनेछन्;

अथवा आकाशका चराचुरुङ्गीहरूलाई पनि सोध्नुहोस्,

तिनीहरूले तपाईंहरूलाई बताइदिनेछन्;

8 अथवा पृथ्वीसँग बोल्नुहोस्, र त्यसले तपाईंहरूलाई सिकाउनेछ;

अथवा समुद्रका माछाहरूले तपाईंहरूलाई बताइदेऊन्।

9 यी सबै कुरा याहवेहकै हातले गरेका हुन् भनी

यीमध्ये कसलाई थाहा छैन र?

10 हरेक प्राणीको जीवन र

सबै मानव-जातिको सास उहाँकै हातमा छ।

11 जिब्रोले भोजनको स्वाद चाखेजस्तै

के कानले शब्दहरूको जाँच गर्दैन र?

12 के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र?

के जीवनको दीर्घायुले समझ ल्याउँदैन र?

13 "बुद्धि र शक्ति परमेश्‍वरका हुन्;

परामर्श र समझशक्ति उहाँकै हुन्।

14 उहाँले भत्काउनुभएको कुरालाई फेरि बनाउन सकिँदैन;

उहाँले कैद गर्नुभएकोलाई कसैले छुटाउन सक्दैन।

15 यदि उहाँले पानीलाई रोक्नुभयो भने खडेरी पर्छ;

यदि उहाँले पानीलाई छोडिदिनुभयो भने त्यसले जमिनलाई विध्वंस पार्छ।

16 शक्ति र बुद्धि परमेश्‍वरका हुन्;

धोका दिने र धोका खाने दुवै उहाँकै हुन्।

17 उहाँले शासकहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ।

र न्यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्छ।

18 उहाँले राजाहरूद्वारा बाँधिएका बन्धनहरूलाई फुकाइदिनुहुन्छ

र तिनीहरूका कम्मरमा पेटी बाँधिदिनुहुन्छ।

19 उहाँले पुजारीहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ

र धेरै अगाडिदेखि अधिकार गर्ने शासकहरूलाई खसालिदिनुहुन्छ।

20 उहाँले भरपर्दा सल्‍लाहकारहरूको ओठलाई चुप गराइदिनुहुन्छ,

र प्रधानहरूका अन्तर्दृष्‍टिलाई हटाइदिनुहुन्छ।

21 उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ

र शक्तिशालीहरूलाई निःशस्त्र तुल्याउनुहुन्छ।

22 उहाँले अन्धकारमा भएका गहिरा कुराहरूलाई प्रकट गर्नुहुन्छ,

र घोर अन्धकारलाई ज्योतिमा ल्याउनुहुन्छ।

23 उहाँले राष्ट्रहरूलाई महान् बनाउनुहुन्छ, र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ;

उहाँले राष्ट्रहरूलाई बढाउनुहुन्छ, र तिनीहरूलाई तितरबितर पनि पार्नुहुन्छ।

24 उहाँले पृथ्वीका शासकहरूबाट तिनीहरूका समझशक्ति खोस्‍नुहुन्छ;

तिनीहरूलाई बाटो नभएको बिरानो ठाउँमा भौँतारिने बनाउनुहुन्छ।

25 तिनीहरू उज्यालो नभएको अँध्यारोमा छामछाम-छुमछुम गरिहिँड्छन्;

उहाँले तिनीहरूलाई मातेको मानिसजस्तै धरमरिँदै हिँड्ने बनाउनुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-19_11-20-24-