Publicidade

Jó 16

इयोबको संवाद

1 तब इयोबले जवाफ दिए:

2 "मैले यस्ता धेरै कुराहरू सुनेको छु;

तपाईंहरू सबै दुःखको सान्त्वना दिनेहरू हुनुहुन्छ!

3 तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन?

के कुराले गर्दा तपाईंहरू बहस गरिरहनुहुन्छ?

4 यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए,

म पनि तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ,

म तपाईंहरूको विरुद्धमा असल भाषण दिन सक्नेथिएँ;

र तपाईंहरूको विरुद्धमा आफ्नो टाउको हल्‍लाउँदै हाँसो उडाउने थिएँ।

5 तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो;

मेरा ओठको सान्त्वनाले तपाईंहरूलाई आराम दिने थियो।

6 "मैले बोले तापनि मेरो दुःख कम हुँदैन;

र म नबोल्दा पनि मेरो पीडा घट्दैन।

7 साँच्‍चै नै परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ;

तपाईंले मेरो पूरै परिवारलाई उजाड पार्नुभएको छ।

8 तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ,

र यो मेरो विरुद्ध एउटा साक्षी भएको छ;

म दुब्लो र पातलो भएको कारणले यसले मेरो विरुद्ध साक्षी दिन्छ।

9 परमेश्‍वरले आफ्नो क्रोधमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ;

र उहाँले मेरो विरुद्धमा दाह्रा किट्नुहुन्छ;

मेरो शत्रुले मलाई आँखा तरेर हेर्छ।

10 मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्;

तिनीहरूले मलाई खिसी गर्दै मेरो गालामा हिर्काउँछन्,

र मेरो विरुद्धमा एकमत हुन्छन्।

11 परमेश्‍वरले मलाई अधर्मीहरूका हातमा सुम्पिदिनुभएको छ,

र मलाई दुष्‍टहरूका पासोमा फ्याँकिदिनुभएको छ।

12 सबै कुरा मसँग ठिकठाक थियो,

तर उहाँले मलाई चकनाचुर पार्नुभएको छ;

उहाँले मलाई गर्दनमा पक्रनुभयो र चुर-चुर पार्नुभयो।

उहाँले मलाई आफ्नो निशाना बनाउनुभएको छ;

13 उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरेका छन्।

उहाँले दया नदेखाई मेरा मिर्गौलाहरू छेड्नुहुन्छ,

र मेरो पित्त भुइँमा पोखाउनुहुन्छ।

14 उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ;

उहाँ एक योद्धाझैँ मलाई झम्टिनुहुन्छ।

15 "मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु,

र मैले मेरो सम्मान धुलोमा गाडेको छु।

16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ,

मेरो आँखाको वरिपरि कालो छायाले घेरेको छ;

17 तापनि मेरा हातहरूले हिंसा गरेका छैनन्,

र मेरो प्रार्थना शुद्ध छ।

18 "हे पृथ्वी, मेरो रगतलाई नछोप्;

मेरो रोदनले कहिल्यै विश्राम नपाओस्!

19 अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ;

मेरो अधिवक्ता उच्‍चमा हुनुहुन्छ।

20 मेरा आँखाले परमेश्‍वरको सामु धरधरी आँसु झार्दा

मेरो मध्यस्थ मेरा मित्र हुन्छन्;

21 एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ,

उसले मानिसको पक्षबाट परमेश्‍वरसँग बिन्ती गर्दछ।

22 "थोरै वर्ष बितेर गइसकेपछि,

म त्यो बाटो जानेछु, जहाँबाट म फेरि फर्कनेछैनँ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-