Publicidade

Jó 28

बुद्धिको खोज

1 पक्‍कै पनि चाँदीको निम्ति खानी हुन्छ,

र सुनलाई खारिने ठाँउ हुन्छ।

2 फलाम पृथ्वीबाट निकालिन्छ,

र धातु गालेर तामा निकालिन्छ।

3 मरणशील मानिसले अन्धकारको अन्त्य गर्छ;

तिनीहरूले पृथ्वीको अति गहिराइमा

र घोर अन्धकारको ठाउँमा धातुको खोजी गर्छन्।

4 मानव वासस्थानदेखि टाढा,

मानिसहरूका खुट्टाले नटेकेका ठाउँहरूमा सुरुङ खन्छन्;

अरू मानिसहरूबाट टाढा डोरीमा झुण्डिन्छन् र हल्‍लिँदै धातु खनेर निकाल्छन्।

5 पृथ्वी, जहाँबाट भोजन निस्केर आउँछ,

त्यसभित्र भने आगोले पग्लिरहेको हुन्छ;

6 त्यसका चट्टानहरूबाट नीलमणिहरू निस्कन्छन्,

र त्यसका धुलोमा सुनका कणहरू हुन्छन्।

7 आकाशका शिकारी पक्षीहरूले त्यस गुप्‍त बाटोलाई जान्दैनन्,

कुनै पनि बाजको आँखाले त्यसलाई देखेको हुँदैन।

8 जङ्गली पशुहरूले त्यसमा पाइला टेकेका छैनन्,

र कुनै सिंहले त्यसमा शिकार गरेको छैन।

9 मानिसहरूले चकमके ढुङ्गालाई तिनीहरूका हातले फोर्छन्;

र पर्वतहरूलाई फेदैबाट पल्टाइदिन्छन्।

10 तिनीहरूले चट्टानभित्रबाट सुरुङ खन्दछन्;

तिनीहरूका आँखाले प्रत्येक बहुमूल्य चीजहरू देख्दछन्।

11 तिनीहरूले नदीहरूका मुहानहरू खोज्दछन्,

र गुप्‍तमा रहेका कुराहरू ज्योतिमा ल्याउँदछन्।

12 तर बुद्धिचाहिँ कहाँ फेला पार्न सकिन्छ?

समझशक्तिको बास कहाँ छ?

13 मरणशील मानिसले त्यसको मूल्य बुझ्दैन;

यसलाई जीवितहरूको देशमा पाउन सकिँदैन।

14 महासागरले भन्छ, "त्यो बुद्धि मभित्र छैन";

समुद्रले भन्छ, "त्यो मसित छैन।"

15 त्यसलाई अति निखुर सुनले पनि किन्‍न सकिँदैन;

न त त्यसको मूल्य चाँदीमा तौलन सकिन्छ।

16 त्यसलाई ओपीरको सुनले समेत किन्‍न सकिँदैन,

बहुमूल्य रत्नहरू अथवा नीलमणि समेत पर्याप्‍त हुन्‍न।

17 त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ;

न त त्यसलाई सुनको गहनाले किन्‍न सकिन्छ।

18 मुगा र बिल्‍लौरको त नाम नै नलिए पनि हुन्छ;

बुद्धिको मूल्य लालमणिभन्दा माथि हुन्छ।

19 कूश देशको पुष्पराजसँग पनि बुद्धिको तुलना गर्न सकिँदैन;

बुद्धिलाई निखुर सुनले पनि किन्‍न सकिँदैन।

20 त्यसो भए बुद्धि कहाँबाट आउँछ,

र समझशक्तिको बास कहाँ छ?

21 त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्‍तमा राखिएको छ,

अनि आकाशमा उड्ने पक्षीहरूबाट पनि त्यसलाई लुकाइएको छ।

22 विनाश र मृत्युले भन्छन्,

"हाम्रो आफ्नै कानमा केवल यसको हल्‍ला मात्र पुगेको छ।"

23 परमेश्‍वरले मात्र यसको बाटो बुझ्नुहुन्छ;

र त्यो कहाँ बास गर्छ, उहाँलाई मात्र थाहा छ,

24 किनकि उहाँले पृथ्वीको अन्तिम भागसम्म देख्नुहुन्छ;

र उहाँले आकाशमण्डलमुनिका हरेक कुराहरू निरीक्षण गर्नुहुन्छ।

25 जब उहाँले बतासको शक्तिलाई स्थापित गर्नुभयो

र बादलमा पानीको मापन गर्नुभयो;

26 जब उहाँले वर्षालाई आदेश दिनुभयो,

र चट्याङको लागि बाटो तयार पार्नुभयो;

27 तब उहाँले बुद्धिलाई हेर्नुभयो र त्यसको मूल्याङ्कन गर्नुभयो;

उहाँले त्यसलाई पक्‍का गर्नुभयो र जाँच्नुभयो।

28 अनि परमेश्‍वरले मानिस जातिलाई भन्‍नुभयो,

"हेर प्रभुको भय नै बुद्धि हो;

र दुष्‍टताबाट अलग रहनु नै समझशक्ति हो।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-